१७ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

ताप्लेजुङ कांग्रेसको माग: सहमतिमा पाथीभरा केवलकार निर्माण गरौँ

नेपाली कांग्रेस ताप्लेजुङले न्यूनतम सहमति गरेर शान्तिपूर्ण ढंगले सौन्दर्य, प्रकृति र शक्तिको क्षयीकरण नहुने गरी पाथीभरामा केवलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत नेपाली कांग्रेसले पाथीभरा क्षेत्रमा देखिएको विवाद सहित ताप्लेजुङमा सञ्चालित जलविद्युत परियोजनाका बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले आन्दोलनको प्रस्थान बिन्दु पत्ता लगाएर त्यसभित्रबाट न्यूनतम सहमति सहित समस्याको दिगो समाधान हुने गरी केवलकार निर्माण हुनुपर्ने पक्षमा आफूहरू रहेको जानकारी दिए । ‘पहिचान पनि भेटिने र द्धन्दपनि मेटिने‘हिसाबले अघि बढ्नु अहिलेको आवश्यकता रहेको काँग्रेस ताप्लेजुङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।‘सहअस्तित्व र समभाव स्थापित गर्दै विकास मानिसका लागि हो र मानिसलाई हत्या हिंसा गरेर निर्माण भएको पूर्वाधार विकास होइन’विज्ञप्तिमा कांग्रेसले भनेको छ । केवलकार निर्माण पक्ष र आन्दोलनरत पक्ष दुवैको अहिलेको प्रस्तुतिले साम्प्रदायिक सद्भाव भड्किने परिस्थिति निर्माण भएको भएको भन्दै काँग्रेसले दलबलबाट नभई वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएको छ ।

कांग्रेसले धार्मिक र सांस्कृतिक स्थल रक्षाको आन्दोलनमा रहेका आन्दोलनकारीलाई वार्ताको टेबलमा आएर संवाद र सहमतिका माध्यमबाट अघि बढ्न आग्रह गरेको छ । अनिश्चित कालिन बन्द हडतालले जनजीवन अस्तव्यस्त भएको उजागर गर्दै कांग्रेसले उचित समयमा उचित निर्णय गरी बन्द हडताल फिर्ता लिन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । आन्दोलनरत पक्ष र केवलकार निर्माण पक्ष दुवैले हठ त्यागेर अधिकतम लचकता र संयमताका साथ शान्तिपूर्ण वातावरण सृजना गरी वार्तामा बस्न काँग्रेसले सबैलाई आग्रह गरेको छ । सरकार र सुरक्षा प्रमुखहरूलाई नागरिकको विरुद्धमा जबरजस्त बल प्रयोग गरी राज्य शक्तिको दुरुपयोग नगर्न समेत काँग्रेसले आग्रह गरेको छ ।

कांग्रेसका जनप्रतिनिधि तथा जिम्मेवार नेता कार्यकर्ताहरूलाई अनावश्यक साम्प्रदायिक दङ्गा भड्काउने किसिमले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन र गैर जिम्मेवार पूर्ण क्रियाकलाप नगर्न काँग्रेस ताप्लेजुङले सचेत समेत गराएको छ । पार्टीको आचरण भन्दा बाहिर गएर अभिव्यक्ति दिए वा गैह्र जिम्मेवार क्रियाकलापमा सहभागी भए त्यसबाट हुने क्षतिको जिम्मेवार र जबाफदेही आफैँ हुनुपर्ने समेत काँग्रेसले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

१० बुँदे अवधारणामा जलविद्युत आयोजनाले आयोजना सम्पन्न गनुपूर्व कति स्थानीय नागरिकलाई रोजगारीको अवसर दिइएको हो ? सामाजिक उत्तर दायित्वको रकम हालसम्म खर्च भएको योजना र लगानी गरिएको स्थान पारदर्शी बनाउन,मुख्य शेयरवाला वा लगानीकर्ता ताप्लेजुङका नागरिक कोको छन् सार्वजनिक गर्न र आयोजना सम्पन्न पश्चात् स्थानीय कति संख्याले दिगो रोजगारी पाएका छन्,त्यो सार्वजनिक गर्न माग गरिएको छ ।

यस्तै ताप्लेजुङ जिल्लाका नागरिक, कर्मचारीहरू, प्रवर्द्धक शेयर र सर्वसाधारणको शेयर प्राप्त कर्ता संख्या सार्वजनिक गर्न,बिद्युत्को केन्द्रीय बिद्युत प्रसारण लाइन अवरुद्ध भएकोमा समयमा पनि ताप्लेजुङ जिल्लामा उत्पादित बिद्युत जिल्लावासीलाई उपलब्ध हुने वातावरण बनाउन,पाथीभराको बाहिरी ठूलो गेट भन्दा भित्र पाथीभराको दैविक प्राकृतिक स्वरूप र शक्ति तरङ्गलाई परिवर्तन गर्ने खालको कुनै संरचना नबनाउन,पैदल मार्गबाट पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीका लागि माथिल्लो फेदि सम्मको यात्रा सहजताका लागि मोटर बाटो खन्ने बजेटको व्यवस्था गर्न नेपालको विकासका लागि निजी क्षेत्रको लगानी अनिवार्य भएकोले लगानी प्रोत्साहन र सुरक्षाका लागि शान्ति र मैत्रीपूर्ण वातावरण सृजना गर्न सम्बन्धित सबैपक्षसँग आग्रह गरिएको छ । 

प्रकाशित: १७ माघ २०८१ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App