११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुप्रिम सहकारी ठगी: लामिछानेविरुद्ध थालियो थुनछेक बहस

बुटवलको सुप्रिम सहकारी संस्था ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला अदालत रूपन्देहीमा बुधबार सहकारी ठगी र संगठित अपराध मुद्दामा पाँच घण्टा लामो बयान लिइएको छ।

बुधबार दिउँसो अदालतमा उपस्थित भएका लामिछानेसँग पाँच नम्बर न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले बयान लिएको हो। दिउँसो १ बजे सुरु भएको बयान साँझ ५ बजे सकिएको थियो।

पाँच घण्टा लामो बयानका क्रममा लामिछानेले इनकारी बयान दिएको बताइएको छ। उनले आफू सुप्रिमको सेयर सदस्य पनि नभएको र ऋणी पनि नभएको भन्दै राजनीतिक प्रतिशोधका कारण फसाउन खोजेको आशयसहितको इन्कारी बयान दिएको स्रोतले बताएको छ।

बयान सकेपछि इजलासले उनलाई हाजिरी जमानीमा छोड्ने आदेश दियो। लामिछानेलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी श्रीमती निकिता र उनका कानुन व्यवसायी नारायणदत्त कँडेलको जिम्मा लगाइएको हो।

स्रोतका अनुसार लामिछानेले इनकारी बयानसँगै हाजिरी जमानीमा छोड्न पटकपटक न्यायाधीशसमक्ष आग्रह गरेको बताइएको छ। लामिछाने आफैं अदालतमा उपस्थित भएका, प्रहरीको निगरानी रहेको र कानुन व्यवसायी साथमै रहेकाले हाजिरी जमानीमा बस्न पाऊँ भनेर न्यायाधीशसमक्ष आग्रह गरेको अदालत स्रोतको भनाइ छ।

लामिछानेलाई हाजिरी जमानीमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाउनुलाई यहाँका कानुन व्यवसायीले भने लामिछानेविरुद्धको मुद्दामा कास्की र काठमाडौंको तुलनामा रूपन्देहीमा लचकता अपनाइएको र थुनछेक बहस पनि लामो नहुने संकेत देखिएको विश्लेषण गरेका छन्।

बुधबार बिहान करिब ९ बजेतिर अदालतपरिसर छिरेका लामिछाने साँझ ६ बजेतिर अदालतबाट बाहिरिएका थिए। लामिछाने, उनकी श्रीमती निकिता र उनका कानुन व्यवसायी भैरहवाकै एक होटलमा बसेका छन्।

जिल्ला अदालत रूपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले लामिछाने बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुने बताए। उनका अनुसार त्यसपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरे, बसन्त पोख्रेल, सुनिल लामिछाने, पवित्रा घिमिरेलगायत सरकारी वकिलले बहस गर्ने बताइएको छ।

त्यस्तै उच्च सरकारी वकिलको कार्यालय बुटवलका सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले पनि बहस गर्नेछन्। उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपाने र प्रकाश मरासिनीले बहस गर्नसक्ने भनिएको छ। जाहेरवालाको तर्फबाट बहस गर्न दिनेश त्रिपाठी बुधबारै काठमाडौंबाट भैरहवा आएका छन्। जाहेरवालाको तर्फबाट सुरेन्द्र भण्डारीले पनि बहस गर्ने बताइएको छ।

त्यस्तै प्रतिवादी अर्थात् लामिछानेका तर्फबाट नारायणदत्त कँडेल, सुशील पन्त, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईं, सुरेन्द्र थापा, सञ्जय थापा, सञ्जय गोलेलगायत कानुनव्यवसायीले बहस गर्ने रास्वपाका नेताले बताएका छन्।

त्यसो त न्यायाधीशले गर्न सक्ने रुलिङका आधारमा थुनछेक बहस लम्बिन्छ या लम्बिन्न भन्ने कुराको निर्धारण हुने भएकाले दुवै पक्षबाट कति जनाले बहस गर्छन् भन्ने कुराको यकिन अघिल्लै दिन गर्न नसकिने एक जना सरकारी वकिलले बताए।

गत आइतबार जिल्ला अदालत रूपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा हाजिर हुन लामिछाने मंगलबारै भैरहवा आएका हुन्। उनीसँग श्रीमती निकिता, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोरासहित केही केन्द्रीय नेता र कानुन व्यवसायीकाठमाडौंबाटै आएका हुन।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जनाविरुद्ध मुद्दा परेको थियो। त्यसमध्ये पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, सहकारीका संरक्षक गीतेन्द्रबाबु (जिबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो। ती २२ जनाबाट समूहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रूपैँया बिगो दाबी गरिएको छ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने गोर्खा मिडियामार्फत सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका हुन्। गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक गितेन्द्रबाबु (जिबी) राई, पूर्वडिआइजी छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल र लक्ष्मी पौडेलको समूहले सहकारी ऐनविपरीत सुप्रिम सहकारीबाट १० करोड ९९ लाख ३६ हजार रूपैयाँ लगेर अपचलन गरेको पुष्टि भएको भन्दै ती पाँच जनाबाट त्यत्ति नै बराबरको अर्थात् १० करोड ९९ लाख ३६ हजार बिगो दाबी गरिएको छ। जसमा लामिछानेबाट दुई करोड बिगो दाबी गरिएको बुझिएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारीका संरक्षक जिवी राई, अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, कुमार रम्तेल, सागर केसीलगायत १७ जनाविरुद्ध थप कसुर र बिगो थपसहितको मुद्दा पनि आइतबारै दर्ता भएको छ।

सुप्रिम प्रकरणमा मुद्दा परेकामध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारकार रूपन्देहीमा छन्। कुमार रम्तेल कास्की काराकारमा छन्। जिबीसहितका अन्य फरार छन्। लामिछाने बुधबारदेखि अदालतमा हाजिर भएका हुन्। बिहीबारदेखि हुने थुनछेक बहसबाट लामिछानेलाई थुनामा पठाउने कि धरौटीमा छोड्ने या साधारण तारेखमा छोड्ने भन्ने कुराको आदेश हुनेछ।

प्रकाशित: १० माघ २०८१ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App