७ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

इमानदार र गम्भीर भएर मुलुक बनाउने जिम्मा रास्वपाले लिन्छ: सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराएको टिप्पणी गरेका छन् । परियारले पछिल्लो समय पार्टी सभापति रवि लामिछाने र पार्टीमाथि भएको प्रतिशोध र चौतर्फी हमलाले त्यसको पुष्टि गरेको ठोकुवा गरे ।

रास्वपा सूर्यविनायक नगर समिति वडा ४ को सोमबार भएको प्रथम वडा अधिवेशनको उद्घाटन गर्दै परियारले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका पुराना राजनीतिक दल जनताको पार्टी बन्न नसकेको कारण रास्वपाको उदय भएको दाबी पनि गरे । उनले पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुकको निर्माणको जिम्मा रास्वपा इमानदार र गम्भीर भएर लिन चाहेको पनि स्पष्ट पारे ।

यस्तै, परियारले मुलुकमा कोही न कोहीले हस्तक्षेप गर्नुपर्ने थियो, त्यो रास्वपाले गरेको पनि बताए । उनले घरघरमा गएर नमस्कार गरेर भोट माग्ने नेताहरुले नै जनतालाई डण्डा लगाउने काम भएको भन्दै नेताहरुलाई खबरदारी गर्न जनतालाई आग्रह पनि गरे । परियारले वडा वडामा हुने बेथिति, विसङ्गति, विकृति र भ्रष्टाचारकाविरुद्ध खुलेरै विरोध गर्न र आवश्यक परे प्रतिकारमा उत्रिन नेता कार्यकताहरुलाई निर्देशन समेत दिए।

अधिवेशनबाट समाजसेवीसमेत रहेका भोलानाथ न्यौपाने नेतृत्वमा ९ सदस्यीय वडा समिति पनि सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा सुदन खड्का, सचिवमा भरत कार्की र सदस्यहरूमा गीता जोशी, रेम्सन प्रजापति, निल खड्का, खिमाकुमारी शर्मा, विमल खड्का र सन्तोष परियार निर्वाचित भएका छन् । वडा अधिवेशनमा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत, साजन विश्वकर्मालगायतका नेता कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित: ७ माघ २०८१ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App