५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एमालेलाई सबै स्वीकार्य माधव नेपाल अस्वीकार्य!

मुलुककै ठुलो कम्युनिस्ट पार्टी निर्माणका लागि जीवनको लामो समय खर्चेका र १५ वर्ष प्रमुख नेतृत्वमा रहेका माधवकुमार नेपालले नेकपा एमालेबाट बाहिरिएर निर्माण गरेको नयाँ पार्टी चार वर्ष पुग्दानपुग्दै अस्तित्वमाथि नै प्रश्न उठ्ने स्थितिमा पुगेको छ। नेपाललाई साथ दिएका नेता–कार्यकर्ता निष्क्रिय बस्ने र सो पार्टी परित्याग गरी एमालेमै फर्कने क्रम बढिरहेको छ।

यही सन्दर्भ पारेर एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता–कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्। ‘हामीले माधव नेपालका लागि ढोका खुला गरेका छैनौं। उहाँले जे गल्ती गर्नुभएको छ, त्यो स्वीकार्य छैन,’ महासचिव पोखरेलले नेपालको नामै लिएर भने। यसको अर्थ एमालेले माधव नेपालबाहेक सबैलाई निम्ता गरेको छ।

पुस १० गतेको सचिवालय बैठक, पुस २१, २२ र २३ गते बसेको केन्द्रीय कमिटीको बैठकले मूलघरमा फर्कने सबैलाई स्वागत गर्ने निर्णय गरेको थियो। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका सबै कमरेड र स्वतन्त्र ढंगले क्रियाशील रहनुभएका मित्रहरूलाई नेकपा एमालेमा फर्कन, पार्टीमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख थियो। यसबाट पनि एमालेबाहिरका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्ने र अन्य दलको मूल नेतृत्वलाई भने एकीकरणको नाम दिएर नल्याउने नीति एमालेले लिएको स्पष्ट हुन्छ।

एमाले महासचिव पोखरेलका यी अभिव्यक्तिले माधवकुमार नेपाललाई आफंैले बनाएको घर क्रमशः बिरानो बन्दै गएको मात्र होइन, कालान्तरमा प्रवेश निषेधको बाटोमा पुगेको आभास हुन्छ। एमालेका केही नेता नेपाललाई सधैं निषेध गर्ने तहमा पुगेका हुन् भन्ने आशंका उब्जिएको छ।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उनलाई आफ्नो पार्टीमा नेपाललाई ठाउँ नभएको अभिव्यक्ति धेरै पटक दिइसकेका छन्। यद्यपि एमाले र नेकपा माओवादी केन्द्रको सरकार बनेका बेला २०८० फागुन २२ मा माधव नेपालको समर्थन जुटाउन केपी ओली आफैं कोटेश्वरस्थित उनको निवासमा पुगेका थिए। त्यति मात्र होइन, राष्ट्रपति निर्वाचनका बेला पनि ओली र नेपालको एकल भेटघाट भएको थियो। तर यी सबै परिस्थिति माधव नेपालका लागि एमाले जाने अनुकूलता बनेको थिएन।

तत्कालीन र वर्तमान नेपालको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी एमालेबाट विभाजन भएपछि नेपालले २०७८ भदौ २ गते निर्वाचन आयोगमा आधिकारिक रूपमा नयाँ दल दर्ता गराए। एमालेमा लामो समयदेखि अन्तरसंघर्षमा रहेका नेपाललाई त्यतिबेला एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमालेमा प्रवेश निषेध भएको संकेत गरेपछि उनी निकै तनावमा परेका थिए।

नेताहरूबिचको दम्भका कारण बढ्दै गएको विवादले एमाले निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका र पूर्वमहासचिवसमेत रहेका नेपाल २०७७ फागुनपछि नै एमालेका बस्न नसक्ने अवस्थामा पुगेका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विचलन र त्यसको अन्तरविरोधको बाछिटाले एमालेलाई ठुलो क्षति पुर्‍याएको थियो।

त्यही क्रममा सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलापछि माधव नेपालका गतिविधि र तत्कालीन नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहालसँगको हिमचिमले उनी एमालेमा रहन सक्ने अवस्थामा पुगेनन्। त्यसले गर्दा उनी र उनीसँग सामीप्य राख्ने नेताहरूले नयाँ दल खोले अथवा एमालेलाई माधव नेपालकै नेतृत्वमा विभाजन गरियो। त्यसपछि पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्रीसमेत भएका दुई मुख्य व्यक्ति एमालेबाट बाहिरिने वातावरण बन्यो।

अहिले पनि नेपाल र झलनाथ खनाल नयाँ पार्टी निर्माणमा जुटेका छन्। तर पनि पार्टी बन्नेभन्दा पनि बढी क्षयीकरण हुन थालेको देखिन्छ। पार्टी निर्माणको चरणबाटै ३३ केन्द्रीय सदस्य एमालेमा फर्किसकेका छन्। त्यसले नेकपा एसमा पार्टी बनाउनेभन्दा पनि छाड्नेको संख्या बढ्दो छ।

नेकपा एसभित्र नेता धेरै कार्यकर्ता थोरै रहेको अहिलेको अवस्थामा अध्यक्ष नेपालले चार वर्ष उमेर रहेको पार्टीलाई कसरी टिकाउँछन् भन्ने अहं प्रश्न उठेको छ। १५ वर्ष पार्टी सत्ता सञ्चालन गरे पनि माधवकुमार नेपालले एक कार्यकाल राज्यसत्ता हाँक्ने रहर भने पूरा भएको छैन।

२०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा एमाले नराम्ररी पराजित भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिएका थिए। त्यसपछि एमालेबाटै प्रधानमन्त्री हुँदा वामदेव गौतम लगायत नेताहरूले पार्टीभित्र छिनाझपटी चलाएपछि प्रधानमन्त्रीबाट पनि राजीनामा दिएर आफूलाई थप नैतिकवान् साबित गर्ने प्रयत्न गरे। यसक्रममा पार्टीभित्र खनाल र ओलीबिच प्रतिस्पर्धा चलिरहेको थियो। एक पटक खनालले पार्टी चलाए अर्को पटक पार्टीको अध्यक्षमा केपी ओलीसँग माधव नेपाल चुनाव लडे र झिनो मतले पराजित भए।

एमालेको नवौं महाधिवेशनमा हालका एमाले अध्यक्ष ओलीसँग ४३ मतको फरकले अध्यक्षमा पराजित भएका नेपालको पार्टीभित्र बराबरी हैसियत थियो। तत्कालीन समयमा ४२ जिल्ला कमिटीका अध्यक्ष नेपाल पक्षमा खुलेर लागेका थिए। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले अचानक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पार्टी एकीकरणको प्रस्तावसहित २०७४ सालमा चुनावी गठबन्धनको प्रस्ताव पार्टीमा सामान्य छलफलसमेत नगरी सार्वजनिक गरे।

चुनावी गठबन्धनसँगै २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र दुवैको पार्टी विघटन मात्रै भएन दुई अध्यक्ष भएको नेकपा गठन भयो। यी सबै कुराका साक्षी नेपाल ‘बृहत् कम्युनिस्ट एकता’को आवरणलाई लुरुलुरु स्वीकार गरेर पछि लागे। उनीसँग त्यसो गर्नुको विकल्प पनि थिएन।

नेकपा गठनसँगै पार्टी एकीकरणको काम हुँदा सबैभन्दा पहिला माओवादी केन्द्र अध्यक्ष दाहालको साथ लिएर एमाले अध्यक्ष ओलीले नेपाल र उनको समूहका नेताहरूलाई पेल्नेदेखि किनारा लगाउने काम सुरु भएको थियो। सबैभन्दा पहिला माधव नेपाललाई जिम्मेवारी नदिनेदेखि चौथो वरीयतामा पुर्‍याउने हदसम्मका गतिविधि भए।

नेपालले सबै कुरा स्वीकार गरे। पार्टी एकताका नाममा नेपाल समूहको पकड रहेको जिल्ला कमिटीमा ओलीले माओवादी पक्षलाई जिम्मा लगाउने काम स्वीकार गरेर उनी बसिरहे। कतिसम्म भयो भने निर्वाचनको बेला सहकार्य गर्दा पनि करिबकरिब त्यस्तै अवस्था भयो। चुनावी तालमेलमा पनि माधवकुमार नेपाल पक्षका र मतदातामाझ लोकप्रिय रहेका नेताहरू कोपभोजनाका सिकार हुन पुगे। नेकपा गठनपछि भने माधवकुमार नेपालले दाहाललाई साथ लिएर ओलीलाई तर्साउन थाले। केपी ओलीका सबैभन्दा आलोचक एमालेका नेताहरू  नै देखिए।

पार्टी सत्ता र राज्यसत्तामा रहेका केपी ओलीको विरोधमा एमालेका प्रभावशाली नेताहरू देखिएपछि २०७७ पुस ५ मा प्रतिनिधिसभा नै विघटन गरियो। यसपछि भने माधव नेपाल र पुष्पकमल दाहालको जोडी नेपाली राजनीतिमा देखिन थाल्यो। त्यसले गर्दा एमालेबाट माधव नेपाललाई आजका दिनसम्म टाढा राखिएको छ। त्यसपछि करिब १५ वर्ष शक्तिशाली महासचिव भएको आफ्नै पार्टीको साधारण सदस्यबाट निलम्बित भएर पनि एमाले पुनर्गठनको अगुवाइ गर्ने भन्दै देशभरि अभियान चलाइरहेका बेला एमाले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणमा नेपालले उल्टै ओलीलाई नै प्रतिस्पष्टीकरण बुझाए। त्यसपछि भने नेपालका लागि २०७७ फागुन २८ गते पार्टीभित्र पस्ने गेट बन्द गरेका ओलीले स्पष्टीकरण सोधेर थप सहजीकरण गर्दै निलम्बन गरे।

यसरी पेलिँदै गएको नेपाल पक्षलाई ओलीले फागुन २३ गते पुनःस्थापित एमाले पार्टीको गेट नै बन्द गरेर सडकमै पुर्‍याइदिए अर्थात् पार्टीकै पूर्वमहासचिव नेपाललाई ओलीले एक प्रकारले भन्ने हो भने सडककै बास बनाइदिएपछि उनी नेकपा एस गठन गर्ने अवस्थामा पुगे। त्यसयता दर्जन पटक केपी ओली र माधव नेपालबीच कुराकानी भए पनि उनीहरूबीच विश्वासको चरम संकट रहेका कारण दुवै नेता एकै नदीका दुई किनार भइरहेका छन्।

प्रकाशित: ५ माघ २०८१ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App