सामाजिक सञ्जालमा प्रकाशन भएको ‘अन्नप्राशन’को तस्बिर हेर्नेबित्तिकै याद आयो, केटाकेटी छँदा सुनेको एउटा कथा। कथा जतिचोटि काट्यो उति टाउको पलाउने ‘रक्तबीज’ नामक राक्षसको थियो। कथाअनुसार रक्तबीज एउटा यस्तो राक्षस थियो जसलाई कुनै पनि शस्त्रले मारेपछि उसको रगत जमिनमा झर्यो भने त्यहाँबाट नयाँ राक्षसहरू उत्पन्न हुन्थे।
राजतन्त्रको अन्त्यसँगै नेपालले लोकतन्त्रको नयाँ युगमा प्रवेश गर्यो तर ‘राजसी मानसिकता’ संख्यात्मक रूपमा दिनानुदिन बढ्ने क्रममा देखिन्छ। एकछिन सोचौं त, त्यो ५/६ महिनाको बच्चा अनि यी परिकार। भौतिक समृद्धिको अनिवार्यता त हामी अभिभावक, समाजले कलिलो अवस्थामै बीजारोपण गरिरहेका छौं। अनि नवजात शिशु हुर्केर पैसाको पछि दौड्यो, आमाबुबा कसैलाई माया गरेन भन्ने गुनासो फेरि हामी नै गर्छौं। जे रोप्छौं, फल्ने त्यही नै त हो !
अन्नप्राशन वा पास्नी नेपाली समाजको एक महत्त्वपूर्ण संस्कार हो, जहाँ बच्चाको जीवनमा पहिलो ठोस खाना खुवाउने परम्परा सुरु गरिन्छ। छोरा भए ६ महिना र छोरी भए पाँच महिनामा यो विधि सम्पन्न गर्ने परम्परा छ। यसले बच्चाको स्वास्थ्य, विकास र पोषणसँग सम्बन्धित सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गर्छ। यो संस्कारले बच्चालाई स्तनपानबाट ठोस आहारतर्फ लैजाने संक्रमणकाललाई प्रतीकात्मक रूपमा सङ्केत गर्छ। परम्परागत रूपमा खिर, दही, घिउ, मह, चामल र माटोको भाँडाको प्रयोग गरिन्छ।
जब शिशुका दाँत उम्रिन थाल्छन्, बल्ल प्रकृतिले ठोस आहार अर्थात् अन्न ग्रहण गर्न स्वीकृति दिएको संकेत मानिन्छ। स्थूल (अन्नमय कोष) को विकासका लागि अन्नको विज्ञानसम्मत उपयोगको ज्ञान आवश्यक हुन्छ। सूक्ष्म विज्ञानअनुसार अन्नको संस्कारको प्रभाव व्यक्तिको मानसिकता र स्वभावमा पनि पर्छ। शुद्ध, सात्त्विक एवं पौष्टिक आहारले तन र मन दुवै स्वस्थ रहन्छ।
उखान छ ‘जस्तो अन्न खायो त्यस्तै मन बन्यो’। त्यसैले आहार स्वास्थ्यवर्धक हुनुका साथै पवित्र र संस्कारित पनि हुनुपर्छ भन्ने कुराको सचेतना अभिभावक र परिवारजनलाई जगाउनु आवश्यक छ। अन्नलाई व्यसनका रूपमा नभई औषधी र प्रसादका रूपमा ग्रहण गर्ने संकल्पका साथ अन्नप्राशन संस्कार सम्पन्न गरिन्छ।
नेपालका विभिन्न समुदायमा अन्नप्राशनलाई भिन्न नामले चिनिन्छ। तराई, पहाड, हिमाली क्षेत्र सबैमा यसलाई आआफ्नो सांस्कृतिक र धार्मिक मान्यतासँग जोडिएको पाइन्छ।
युनिसेफ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बालपोषणमा पहिलो ६ महिना पूर्ण स्तनपानको महत्त्व र त्यसपछि पूरक आहारको आवश्यकता औंल्याएका छन्।
भारतमा यो परम्परा ‘अन्नप्राशन’ (अर्थः अन्न ग्रहण) का नामले चिनिन्छ। बंगाल, केरला र दक्षिण भारतमा यो विधि विशेषतः ६ देखि आठ महिनाको बिचमा गरिन्छ। परम्परागत रूपमा पायसम (खिर) वा चामलको अन्य परिकार खुवाइन्छ।
थाई परम्परामा पनि बच्चाको पहिलो ठोस आहारलाई विशेष अवसरका रूपमा मनाइन्छ। पश्चिममा यसलाई सामाजिकभन्दा स्वास्थ्य र पोषणका दृष्टिकोणबाट हेर्ने गरिन्छ। त्यहाँ कुनै विशिष्ट धार्मिक विधि हुँदैन तर बच्चा ६ महिना पुगेपछि चिकित्सकको सिफारिस अनुसार पूरक खाना सुरु गरिन्छ।
परम्पराको सार र वैज्ञानिक महत्त्व
अन्नप्राशन परम्पराले बच्चालाई ठोस खाना दिन थाल्ने समयलाई उत्सवका रूपमा मनाउने अवसर प्रदान गर्छ। यो एक सांस्कृतिक प्रक्रिया मात्र नभई बच्चाको स्वास्थ्यसँग जोडिएको वैज्ञानिक पक्ष पनि हो। बच्चाको शारीरिक विकासका लागि स्तनपानपछि ठोस खाना आवश्यक हुन्छ। तर, यसका लागि महŒवपूर्ण कुरा सन्तुलित आहार र सरलता हो, न कि बाह्य तडकभडक।
पोषण
शिशुका लागि पहिलो ६ महिना पूर्ण स्तनपानले मात्र आवश्यक पोषण प्रदान गर्न पर्याप्त हुन्छ। त्यसपछि, बच्चाको शारीरिक र मानसिक विकासका लागि पूरक ठोस आहारको आवश्यकता हुन्छ। ‘अन्नप्राशन’ बच्चाको पाचन प्रणालीलाई ठोस खानाका लागि तयार बनाउने संकेत हो।
प्रतिरक्षा प्रणालीको विकास
ठोस खाना सुरु गर्दा शिशुको प्रतिरक्षा प्रणाली क्रमशः बलियो बन्छ।
परम्परागत रूपमा खुवाइने चामल, घिउ, दाल र खिरजस्ता परिकार पोषणका दृष्टिले लाभदायक हुन्छन्।
सामाजिक र भावनात्मक विकास
यो संस्कारले बच्चालाई परिवार, समुदाय र समाजसँग जोड्ने महŒवपूर्ण अवसर प्रदान गर्छ। परिवारजन, आफन्त र समुदायको सान्निध्यले शिशुको सामाजिक सम्बन्ध विस्तार गर्न भूमिका खेल्छ।
पाचन प्रणालीको परिपक्वता
६ महिनापछि शिशुको पाचन प्रणाली ठोस खाना पचाउन सक्षम हुन्छ। सही आहारले भविष्यमा हुने कुपोषण, पाचन समस्या र अन्य स्वास्थ्य चुनौतीहरूको सम्भावना कम गर्छ।
पछिल्लो समय भने यो विधिले आफ्नो मौलिकता गुमाउँदैछ र बढ्दो कृतिमता एवं देखावटीपना यसका विशेषता बन्दैगएका छन्। सामान्य परम्परालाई साधारण र सादगीपूर्ण रूपमा सम्पन्न गर्ने चलनबाट यो विधि महँगो, प्रतिस्पर्धात्मक र अनावश्यक तडकभडकपूर्ण बन्दै गएको छ। महँगा भोज, सजावट र विदेशी वस्तुहरूको प्रदर्शनले यसको मौलिकता ओझेलमा पर्दै गएको छ।
कृतिमता र देखावटीपनको प्रभाव
स्वस्थकर खाना खुवाउनुभन्दा परिकारको विविधता र सजावटलाई महत्त्व दिन थालिएको छ। विधिका लागि आवश्यक पूजा र धार्मिक अभ्यासलाई उपेक्षा गर्दै भौतिक प्रदर्शनलाई प्राथमिकता दिइन्छ। देखावटीपनको प्रभावले मध्यमवर्गीय र निम्न वर्गमाथि आर्थिक दबाब पर्न थालेको छ।
अन्नप्राशन बच्चाको स्वास्थ्य र संस्कारको प्रतीक हो। यसमा साधारणतया सादगी र परिवारको आत्मीयता झल्किनुपर्छ। यस संस्कारलाई देखावटी प्रतिस्पर्धाको माध्यम नबनाई वास्तविक परम्परा र पोषणमूलक आधारमा सम्पन्न गर्नुपर्छ। परम्परागत ज्ञानलाई वैज्ञानिक चेतना र आधुनिक स्वास्थ्य मापदण्डसँग जोडेर अघि बढाउनु उचित हुन्छ।
१. मौलिकता कायम राखौं। अन्नप्राशन विधिमा स्थानीय र सस्तो तर पोसिलो खानेकुराको प्रयोग गरौं। यसले बच्चाको पोषणमा सहयोग पुर्याउँछ र सांस्कृतिक जरा जोगाउँछ।
२. सजावट र तडकभडकलाई निरुत्साहित गरौं। संस्कारलाई सामाजिक प्रतिष्ठा प्रदर्शनको माध्यम बनाउनुको साटो यसलाई सरल र प्राकृतिक बनाउन प्रेरित गरौं।
३. सामाजिक चेतना फैलाऔं। यो त एउटा उदाहरण हो। यस्ता कैयौं चालचलन विकृत बन्दै गएका छन्। यस्ता विषयमा विद्यालय, सामुदायिक संस्था र सञ्चार माध्यमबाट जनचेतना फैलाउन सकिन्छ।
४. धार्मिक पक्षको सम्मान गरौं। विधिलाई सांस्कृतिक मूल्यमान्यता र धार्मिक पक्षसँग जोड्दै यसको परम्परागत महत्त्वलाई सुरक्षित गरौं।
प्रकाशित: ५ माघ २०८१ ०९:०५ शनिबार