दुई विदेशी टोलीको सहभागिता रहने टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा सुरु हुने भएको छ।
टाइगर गुप्र अफ पोखराको आयोजनामा आगामी माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुन लागेको हो। महिला र पुरुष दुवैमा समान एक विदेशी टोली रहने भएको छ।
पुरुषमा भारतको र महिलामा थाइल्यान्डको टोलीले प्रतिस्पर्धा गने भएका छन्। टाइगर ग्रुप अफ पोखराले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। महिला र पुरुषमा समान ६ टोली गरी १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्। दुवैमा तीन विभागीय टोलीको सहभागिता रहने भएको छ।
प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, भारतको सुनिल भलिबल क्लब, हेल्प नेपाल स्पोटर्स, नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्। महिलामा भने सशस्त्र प्रहरी बलको एपिएफ, न्यु डायमन्ड स्पोटर्स, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब छन्। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले श्रीलंकाको लिग च्याम्पियन ल्याउने तयारी गरे पनि अन्तिम समयमा आन्तरिक समस्या देखाउँदै सहभागी नभएकाले उल्लेख गरे।
विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेताले दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ रूपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ रूपैयाँ पाउनेछ। विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिबेरो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले समान १० हजार पाँच सय ५५ रूपैयाँ पाउनेछन्।
प्रतियोगिताका लागि करिब एक करोड २५ लाख रूपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ। २०७७ सालदेखि टाइगर कप भलिबल पोखरा रंगशालामा हुँदै आएको छ।
प्रकाशित: ५ माघ २०८१ ११:२५ शनिबार