५ माघ २०८१ शनिबार
image/svg+xml
कला

भूतपूर्व लेखक

लघुकथा

१) झिँगा

जीवनमा सफलताका अनेक सिँढी चढ्दै उसले प्रशासनिक क्षेत्रको उच्च पद पायो। उचाइमा पुगेपछि उसलाई सबैथोक झिँगा देखिन थाल्यो। भौतिक वस्तु मात्र नभएर सहकर्मी साथीभाइ, कनिष्ठ कर्मचारी, नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, डाक्टर, प्राध्यापक, इन्जिनियर सारा मानिस उसलाई झिँगा लाग्न थाल्यो। उसका छोराछोरी, विगतमा साथै काम गरेका कतिपय साथीभाइ पश्चिमा देशका नागरिक भइसकेका थिए। उसले अब अठोट गर्‍यो, “यहाँ बसेर के गर्नु? म पनि लागेँ अमेरिका।” 

पिआरधारक उसले देशले दिएको सम्मान, पदप्रतिष्ठा त्याग्यो। ऊ आफ्नी प्राणप्यारी र छोराछोरीलाई भेटन छटपटायो। आफ्ना आफन्तको भेटपछि उसले भन्यो, “नेपाल पनि देश हो र? यो पो देश। कति उन्नति, प्रगति अनि समृद्धि छ।”

त्यसपछि उसले आकाशतिर चिच्याउँदै भन्यो, “आहा! मेरो देश। मेरो सपनाको देश। मेरो समृद्धिको देश। मेरो अमेरिका। मेरी प्राणप्यारी र छोराछोरीले रोजेको देश।”

उसको साथै रहेको एक अमेरिकनले भन्यो, “अनि टिमी जन्मेको देश नि?”  

“त्यो झिँगाको देश। त्यहाँ बस्ने सब झिँगा हुन्। खान नपाएका, लाउन नपाएका, देशभक्तिको खोक्रा नारामा भुलेका अभागी झिँगाहरू।” ऊ बेस्सरी करायो।

विद्यालय कालमा पढेको देशभक्तिको पाठ, युवाकालमा देशका लागि वफादार बन्न गरेको सपथले कहिलेकहिले उसलाई सपनामा दुःख दिन्छ अनि ऊ कराउँछ “मेरो देश। मेरो पुर्खाले बनाएको देश।”

२) महत्त्व

“हेर्नुस! मैले साहित्यमा लागेर नाम कमाएँ केही दाम कमाएँ। मलाई सारा मानिसले सम्मान गर्र्छन्, आदर्श मान्छन्।” उनी भन्दै गए, म सुन्दै गएँ।

“साहित्यमा नलागेको भए के हुन्थ्यो होला?” मैले पत्रकार जसरी प्रश्न सोधेँ।

“साहित्यमा नलागेको भए म आफ्नै पेसा व्यवसायमा लागेर अवकाशको जीवन बाँचिरहको हुन्थेँ।” उनी खुल्दै गए।

“सम्मानको जीवन बाँच्नुभएको छ। तपाइँको सिर्जनाको मूल्य समाजले चिनेको छ।” मैले प्रशंसा गर्दै भनेँ।

“तर के गर्ने...?” उहाँको अनुहारमा विषादका रेखाहरू देखिए।

“के भयो सर?” म आतङ्कित भएँ।

“मेरो घरपरिवारलाई मेरो सामाजिक जीवनको प्रतिष्ठाको कुनै मूूल्य थाहा छैन। मेरी श्रीमतीले धेरै पैसा कमाउन सकेन भनेर प्रताडित गरिरहन्छिन्। छोराले मैले पाएका सम्मानपत्र घरको भित्तामा झुन्ड्याउन मानेको छैन।” उनको स्वर आर्द हुँदै गयो।

“अनि यस बारेमा घरपरिवारसँग कुरा गर्नुभएन?” मैले जिज्ञासा राखेँ।

“कुरा गरेको थिएँ श्रीमतीसँग। यति महँगो भित्तामा तुच्छ प्रमाणपत्र झुन्ड्याउने कुरा नगर्नुहोस्। घरका कसैलाई मन पर्दैन् भनिन्। म चुपचाप सुनिरहेँ।” यति भनिरहँदा उनको आँखा रुमालले छोपिएको थियो।

३) भविष्यका कर्णधार

रत्नपार्कदेखि कीर्तिपुरसम्मको माइक्रोबस भरिभराउ थियो, खुट्टा राख्ने ठाउँ थिएन। मानिसहरू बस्ने ठाउँ नपाएर ढोकासम्म उभिएका थिए। बसभित्र उभिनेमा सबै उमेर समूहका मानिस थिए। जेष्ठ नागरिक लेखिएको ठाउँमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नात्तकोतर अध्ययन पूरा गरेका, रोजगारको खोजमा रहेका युवाहरूको कब्जा थियो। उनीहरू गम्भीर बहस गर्दै थिए। उनीहरूको छलफलको सार यस्तो थियो:

“नेताहरूले देश डुबाए।”

“विश्वविद्यालय पदाधिकारीमा भागबन्डा लगाएर खोक्रो बनाए।”

“देशको अर्थतन्त्र चौपट भयो।”

“अब देशमा स्वतन्त्र काम गर्ने व्यक्तिको आवश्यकता छ, आस्थागत राजनीति आवश्यक छैन।”

“नेता जति सबै राजधानीमा थुप्रिए, गाउँमा कोही जाँदैन।”

“फलाना फलाना प्राध्यापकले पढाउनभन्दा राजनीतिमा बढी भाग लिन्छन्।”

लाग्थ्यो, उनीहरू देशका लागि धेरै चिन्तामा छन्।

माइक्रोबस कीर्तिपुर पुग्नै लाग्दा तिनीहरूमध्ये एकले बसमा उभिएकी एक युवतीलाई धक्का दिएर त्यहीँ लडाइदियो। अर्काले पैसा दिने बेलामा नक्कली कार्ड देखाएर छुट लियो।

बसबाट ओर्लेर उनीहरू सडक किनारमा ठेलामा फलफूल बेच्ने मानिससँग मोलमोलाइ गर्न थाले। मोलमोलाइ गर्दागर्दै एउटाले गफमा भुलाउने र अर्काले त्यहाँबाट केही फलफूल आँखा छलेर सुटुक्क आफ्नो झोलामा राख्यो। केही पर पुगेपछि कालो वर्णको फलफूल पसलेलाई सङ्केत गर्दै तिनीहरूमध्येको एकले भन्यो, “कहाँकहाँका फटाहा आएर नेपालीलाई ठग्छन्।”

परिचित मित्रहरूसँग भेट हुने क्रम बढ्यो। गाउँबाट भर्खर आएको नवआगन्तुकले एउटालाई भन्यो, “तिमी घर किन जाँदैनौ? तिम्रा बुवा बिरामी छन्।”

“घर गएर के गर्नु? त्यहाँ के छ र, रोगी आमाबाबु र थोत्रो घर। मलाई यतै राम्राे लाग्छ।” त्यही समूहको एकजनाले मुख बिगार्दै भन्यो। समूहमा गफ गरिरहेको एकजनाले सोध्यो, “मेरो शोधपत्र नभएर जागिर नै रोकिने जस्तो भयो यार। हिजै मात्र घरबाट आएको। कतै शोधपत्र किन्न पाइन्छ?”

“मलाई थाहा छ, जाउँ।” एउटाले जोसिएर भन्यो। त्यसपछि उनीहरू सबै एक कम्प्युटर पसलतिर लागे।

४) भूतपूर्व लेखक

अकस्मातै भेट भयो। मित्रमिलापको क्रममा सुखदुखका कुरा भए।

“तपाई त आजकल कतै देखिनु हुन्न नि?” साथीले जिज्ञासा राखे।

“म यतै छु। आफ्नो जिम्मेवारीमा रहेको काम गरिरहेको छु।” उनको आशय बुझेपछि सचेततापूर्वक भने।

“मैले साहित्यिक कार्यक्रममा देखिनु हुन्न भनेको नि!” उनी प्रष्ट देखिए।

“पहिले जस्तो फुर्सद पनि हुँदैन। भूमिका भएका कार्यक्रममा जान्छु तर सबै कार्यक्रममा जाने गरेको छैन।” मैले आफ्नो विचार राखेँ।

“मलार्ई कार्यक्रममा भ्याइनभ्याइ छ। विमोचन, अन्तक्रिया,, सम्मान के हो के। बोलाएपछि जान मन लागिहाल्छ। जीवन गतिमा छ मेरो।” उनले आफूलाई व्यस्त देखाए।

“धेरै वर्ष भयो, तपाई भित्रको लेखकलाई मैले भेट्न सकेको छैन। कता हरायो त्यो?” म जिज्ञासु बनेँ।

“छोड्नुस् ती कुरा। मलाई त आजभोलि लेख्नपढ्न मन नै लाग्दैन। लेख्न छोडेँ मैले। लेखेर के नै पाइन्छ र? साहित्य नलेखे पनि साहित्यकार भनेर सम्मान, पुरस्कार पाएकै छु। देशविदेशका साथीहरूले चिनेकै छन्। कार्यक्रमको रामरमिताको आनन्द अनुभूतिले जीवन रसमय बनेकै छ।”

मैले हेरेँ, भूतपूर्व लेखकको अनुहार गर्वले फुलेको थियो।

५. आँसुको तलाउ

नेताजी भावविव्हल थिए। छोराको आकस्मिक निधनपछि पहिलो स्मृति दिवस थियो। नेताजी शोकाकुल थिए। कार्यकर्ता दुखी थिए। सभामा उपस्थित सबै मानिस व्यथित थिए।

“महान् क्रान्तियोद्धा, मेरो हृदयको सितारा, मेरो सुपुत्र, मेरो कामरेड, तिम्रो सहयोगले मेरो जीवन सार्थक भएको थियो। कहाँ छौ तिमी? मेरो हृदय जलिरहेछ। मनमस्तिष्कमा तिम्रो स्मृति छ।” नेताजीले कातर स्वरमा भने।

वातावरण भावविव्हल भयो जस्तो कि चारैतिर दुःखको साम्राज्य फैलिएको छ।

दिनभरको थकान नेताजीको अनुहारमा स्पष्ट देखियो। पीडाको असर त छँदै थियो। अतः राति छिट्टै सुतिहाले।

नेताजी सपनामा विचरण गरिरहेका थिए। चारैतिर हरियाली, हरियालीको बिचमा सुन्दर तलाउ। उनलाई तत्काल स्नान गर्र्ने मन लाग्यो। उनी अर्धनग्न भएर डुबुल्की लगाउन थाले। अचानक उनलाई कालाकाला आकृतिले घेराउ गर्‍यो। नेताजी डराए।

“को हौ तिमीहरू? मलाई किन घेराउ गरेका छौ?” एकाएक उनको मुखबाट भयग्रस्त स्वर निस्कियो।

“म जनयुद्धको घायल।”

“म जनयुद्धको अपाङ्ग।”

“म जनजाति।”

“म पिछडिएको क्षेत्रको सीमान्तकृत नागरिक।”

“म जनयुद्धकालको घरबारविहीन।”  

“म तपाईहरूका कार्यकर्ताद्वारा प्राण लिइएको निर्दोष नागरिकको बाबु।”  

आकृतिहरू अझ नजिक आउन थाले । नेताजीको अनुहार पहेंलो भयो । मुखबाट यति शब्द निस्कियो, “के चाहन्छौ तिमीहरू ?”

“हामी न्याय चाहन्छौं ।”

“कस्तो न्याय ?”

“हाम्रो पीडाले भरिएको आँसुको तलाउमा डुबकी लगाएर आँसुको तलाउमा डुबुल्की मारिरहेका छौ । फेरि पनि सोधिरहेका छौ, कस्तो न्याय?”

एकाएक विष्फोट भयो । नेतापत्नीले देखिन्, नेताजी सपनामा ‘बचाउ, बचाउ’ भनेर कराइरहेका छन्।

डा. पुष्करराज भट्ट (डा. भट्ट का शिखर यात्रा लघुकथासंग्रहमा संग्रहीत।)  

प्रकाशित: ५ माघ २०८१ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App