नेकपा एमालेका नेता सूर्य थापाले विपक्षी गठबन्धनमाथि राजतन्त्रको पुनःस्थापनाको एजेण्डा बोकेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत थापाले विपक्षी गठबन्धनले राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्नेआदि साझा एजेण्डा बोकेको आरोप लगाएका हुन्।
उनले भनेका छन्, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा, ८१ सदस्यीय मोर्चाबन्दी। राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेन्डाबिना चिल्लाको च्वाईच्वाईं।’
शुक्रबार विपक्षी दलहरूले सरकारको कदमलाई भर्त्सना गर्दै संसद्मार्फत विधेयक ल्याउनुपर्ने कानूनी प्रक्रियालाई उल्लङ्घन गर्दै अध्यादेशमार्फत कानून ल्याएको आरोप लगाएका थिए। विपक्षी दलहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई फिर्ता नगरी, सोही विषयमा गम्भीर प्रकृतिका कानूनहरू अध्यादेशमार्फत ल्याइएकोमा आपत्ति जनाएका छन्।
उनीहरूले यस कदमलाई ‘खतरनाक, स्वेच्छाचारी र निरंकुश प्रवृत्ति’ भन्दै आलोचना गरेका छन्। उनीहरूको भनाइमा सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई अवरुद्ध गर्दै भ्रष्टाचारीहरूलाई जोगाउने काम गरिरहेको छ।
प्रकाशित: ५ माघ २०८१ ०९:१६ शनिबार