५ माघ २०८१ शनिबार
image/svg+xml
कला

रुसका नेपालप्रेमी विद्वान् र विदुषी ल्युदमिला अगानिना

नेपाल–रुस सम्बन्धको इतिहास खोतल्दा नेपाल भ्रमण गर्ने पहिलो रुसी नागरिक पूर्वीय दर्शन र बौद्ध धर्मका ज्ञाता प्राध्यापक इभान पाभ्लोभिच मिनाएभ थिए। उनी सन् १८७५ मा तिब्बतको बाटो भएर नेपाल पसेका थिए र स्वदेश फर्केपछि रुसी भाषामा नेपालसम्बन्धी पहिलो पुस्तक लेखेका थिए।

मिनाएभले बौद्धग्रन्थ र नेपाली तथा नेवारी साहित्यको रुसी भाषामा अनुवाद र नेवारी भाषाको शब्दकोश तयार गरेका थिए। यो इतिहास जिज्ञासुहरूका लागि नौलो र रोचक विषय हो। मिनाएभ नेपाल यात्राबाट फर्केपछि विश्वप्रसिद्ध साहित्यकार एवं चिन्तक लेभ टोल्सटोइसँग उनको भेट भएको थियो। उनीसँगको संवादमा लेभ टोल्सटोइले नेपालको अवस्थाबारे जानकारी लिएको कुरा पढ्न पाउनु हाम्रा लागि आश्चर्यको विषय हो। यस सम्बन्धमा कृष्णप्रकाश श्रेष्ठको तीन वर्षअगाडि ‘मिनाएभको नेपाल यात्रा’ काव्यसङ्ग्रह पनि प्रकाशित भएको छ। यो काव्यमा जुगौंदेखि इतिहासका गर्भमा लुकेका सर्वथा नवीन तथ्यहरूको उजागर भएको छ।

नेपालका कला, कौशल र संस्कृति लन्डन र पेरिसको म्युजियमसम्म फैलाउने अर्का प्रसिद्ध रुसी लेखक, पुरातत्त्वविद्, दार्शनिक निकोलाई रेरिख थिए। हिमालयको पहिलो यात्राले रेरिखको मनमस्तिष्कमा नेपालसम्बन्धी अविस्मरणीय कलात्मक छाप छोड्यो। त्यसपछिका उनका लेखमा नेपाल र यहाँको संस्कृतिप्रति गहिरो प्रेम छचल्किन थाल्यो।

हालै मात्र उनको १५० औं जन्मजयन्तीका अवसरमा रुसी कलाकार नताल्या जैत्सेवाबोरिसोभाले नेपालप्रति समर्पित ‘हिउँको घर’ फोटो प्रदर्शनी काठमाडौंको रुसी हाउसमा गरेकी थिइन्।

साठीको दशकदेखि ‘सोभियत भूमि’ पत्रिका नेपालीमा प्रकाशित हुन्थ्यो र यो मुलुकको दूरदराजसम्म पुग्थ्यो। २१ अक्टोबर, १९६३ मा रेडियो मस्कोबाट नेपालीमा कार्यक्रम प्रसारण सुरु भयो।  

सन् १९७९ मा काठमाडौंमा रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र खुलेपछि दुई देशबीचको आपसी सम्बन्ध जनस्तरमा समेत घनीभूत भयो।

सोभियत कालमा इल्या बी रेडको, ल्युदमिला अगानिना, नतालिया कार्पोभिचजस्ता नेपाली साहित्य, भाषा, इतिहास, अर्थतन्त्र र राजनीतिका विभिन्न पक्षहरूको अध्ययनमा विशेषज्ञता हासिल गरेका धेरै सोभियत नेपालविद् थिए। रुसी महासंघका प्रख्यात दागेस्तानी कवि रासुल गाम्जातोभ तीन पटक नेपालमा आएका थिए र नेपालको रहस्यमय सौन्दर्यबाट मुग्ध भएर उनले ‘जीवन चक्र’ र ‘जीवित देवी कुमारी’ कविता रचेका थिए। रासुल ‘नेपाल कुँद्न बाँकी रहेको हीरा हो’ भन्थे।

उनको काव्य जीवित देवी कुमारी यसरी सुरु हुन्छ:

‘भारत नजिक, प्राचीन थलोहरूबीच,

हिमालयमा, जहाँ सगरमाथाको मुकुट

आकाशमा छ

र मन्दिरहरू उसको पाउमा एकत्रित हुन्छन्,

जहाँ तिब्बती पहाडहरू सेता छन्,

एसियाको चमत्कार सबै अनौठो –

यसमा सयौं सयौं देवताहरू बस्छन्।’

हामीले गौरव मान्नुपर्छ कि भ्यालेन्टिना तेरेस्कोभा र भ्लादिमिर अलेक्सान्ड्रोभिच जानिबेकोभजस्ता विश्वप्रसिद्ध अन्तरिक्ष यात्रीहरू रुस–नेपाल सहयोग तथा मैत्री समाजका संरक्षक थिए र छन्।

अर्का विख्यात अन्तरिक्ष यात्री युरी मालिसेव कुनै बेला सो समाजका अध्यक्ष थिए। हाल नेपाललाई असाध्य माया गर्ने र लुम्बिनीमा रुसी बुद्ध मन्दिरको नेतृत्व गर्ने मिखाइल सेर्गेइविचले नेक्रासोभले यसको नेतृत्व गरिरहेका छन्।

अर्कातिर रुसी लेखिकाहरू तमारा भिक्तोरोभ्ना पच्योम्किना र तच्याना लियोदिनोभ्ना च्छेग्लोभाहरू नेपाली भाषा, साहित्य र संस्कृतिसम्बन्धी लेख्न र रुसी पाठकमाझ फैलाउन अनवरत लागिरहेका छन्। रुस–नेपालको जनस्तरीय कुटनीतिलाई मैत्री समाजका उपाध्यक्ष बोरिस भ्लादिमिरोविच भेर्सिनिनले समन्वय गरिरहेका छन्।

एक दिन मेरो मस्कोवासी मित्र कार्ल फोमिनले मलाई ‘रामविन्दु, सन् १९७१ मा प्रकाशित नेपाली दन्त्य कथाहरूको पहिलो पुस्तक भेटें र त्यो आज मैले किनेँ’ भनी लेखे। साथै त्यो पुस्तक अनुवादकद्वयमध्ये कृष्णप्रकाश श्रेष्ठको नाम देखेर उनले ‘यो दोस्रो अनुवादक श्रेष्ठ तिम्रा आफन्त पर्छन् कि’ भनी सोधे? मैले उनले फोटो खिचेर पठाएको किताबको आवरण हेरें। किताबको नाम ‘नेपाली लोककथा’ रहेछ। पुस्तकको अनुवादकद्वय रुसी लेखिका ल्युदमिला अलेक्सान्द्रेभ्ना अगानिना र कृष्णप्रकाश श्रेष्ठ रहेछन्।

ल्युदमिला अगानिनाको यो नाम पढेपछि मलाई छुट्टै कौतूहल जाग्यो। गतवर्ष नेपाल–रुस साहित्य समाज र रुसी सदन काठमाडौंद्वारा आयोजित हाम्रा महाकवि देवकोटा तथा प्रसिद्ध रुसी कवि मिखाइल लेर्मन्तोभको जन्मजयन्ती कार्यक्रममा साहित्यकार र अनुवादक प्राडा जंगब चौहानबाट अगानिना–देवकोटाको प्रसङ्ग सुनेपछि मेरो जिज्ञासा झनै फराकिलो भयो।

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा सन् १९५८ मा तत्कालीन उज्बेक सोभियत समाजवादी गणतन्त्रको राजधानी तासकन्दमा आयोजित  अफ्रो–एसियाली लेखक सम्मेलनमा भाग लिन मस्को पुगेका थिए।

त्यतिबेला उज्बेकिस्तानको राजधानीमा युरोप, एसिया, अफ्रिका र अमेरिकाका दुई सयभन्दा बढी लेखक भेला भएका थिए। तासकन्द सम्मेलनमा महाकवि देवकोटाले प्रस्तुत गरेको मन्तव्यलाई बाहिरी दुनियाँमा नेपाल र नेपाली साहित्यको परिचय फैलाउने महत्त्वपूर्ण दस्ताबेज मानिन्छ। सो सम्मेलनको चर्चा विश्वभर फैलिएको थियो र यसको श्रेय मूलतः विदुषी ल्युदमिला अगानिनालाई जान्छ।

हो यिनै रुसी लेखिका ल्युदमिला अगानिनाले सन् १९५८ को अक्टोबरमा ऐतिहासिक तासकन्द सम्मेलनमा हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भेटेकी रहिछन् र पहिलो पटक विदेशी भाषामा देवकोटाको जीवनी लेखिन्। ल्युदमिला देवकोटाको तासकन्द ओजस्वी भाषणबाट यति प्रभावित भइन् कि आफ्नो बाँकी जीवन यी विदुषीले नेपाली साहित्यका लागि  समर्पण गरिन्।

अफ्रो–एसियाली लेखक सम्मेलनपछि हाम्रा महाकवि देवकोटालाई सोभियत सरकारले विस्तृत स्वास्थ्य परीक्षणका लागि आग्रह गर्‍यो। यस क्रममा उनको मस्कोको प्रसिद्ध ‘बोत्किन अस्पताल’मा एक महिनाजति उपचार गरियो। यो समय कवि र ल्युदमिलाबीच एकापसलाई नजिकबाट चिन्ने मौका साबित भयो। रुसी विदुषीले देवकोटाको अन्तर्यमा सन्निहित महाकवि हृदयसँग साक्षात्कार गरिन्।

देवकोटा मस्कोमा उपचाररत रहँदा अंग्रेजीमा काव्य सिर्जना गरेका थिए। तीमध्ये केही कवितालाई आगानिनाले रुसी भाषामा अनुवाद गरेकी थिइन्। तिनले महाकविको मस्को बसाइका क्रममा दोभाषेको काम पनि गरेकी थिइन्। तीमध्ये एउटा कवितांश यसप्रकार छ: 

म मस्को नामको सहरमा छु।

मस्को एक दन्त्यकथा जस्तै सुन्दर छ।

 -     -    -

तर मेरो मुटु सधैं मेरो देश सँगै छ:

खुलेको दिन होस्,

वा गड्याङगुडुङ गर्जनसहितको,

मेरो अगाडि देखा पर्छ मेरो सपनामा–

नेपाली पहाड फिरोजा,

नेपाली ताल फिरोजा,

नेपाली फिरोजा आकाश।

(फिरोजा– बहुमूल्य रत्न)

ल्युदमिलाको शब्दमा: ‘देवकोटा एक प्रतिभाशाली नेपाली कवि, स्वतन्त्रताप्रेमी, देशभक्त, शब्दका शिल्पकार, उपनिवेशवाद विरोधी र सकारात्मक कार्य गर्ने व्यक्ति हुन्। देवकोटा सोभियत संघका हार्दिक मित्र थिए। कवि मर्छ तर उसको रचना अमर हुन्छ। देवकोटाका कविता जीवन्तताका उदाहरण हुन्। देवकोटाजस्तो प्रतिभा राष्ट्रको सीमामा मात्र सीमित नभई जहींतहीं अमर हुन्छन् र जनताको हृदयमा अनन्तसम्म रहन्छ।’

यी नेपालप्रेमी ल्युदमिला अलेक्जान्ड्रोभना अगानिना २३ जनवरी १९२६ मा मस्कोमा जन्मेकी थिइन्। उनी भाषाविद्, सोभियत रुसी प्राच्यविद्, साहित्यिक समीक्षक, फिलोलोजीका डाक्टर, रुसी एकेडेमी अफ साइन्सेस ओरिएन्टल स्टडिज इन्स्टिच्युटका अनुसन्धानकर्ता, नेपालको साहित्यका विशेषज्ञ थिइन्।

उनले सन् १९५० मा मास्को इन्स्टिच्युट अफ ओरिएन्टल स्टडिजबाट स्नातक गरिन्। सन् १९५४ देखि १९५८ सम्म सोभियत ओरिएन्टल स्टडिज पत्रिकामा काम सुरु गरिन्। त्यसपछि फिलोलोजी विभागको प्रमुख भइन्।

१९५८ देखि २००० सम्म सोभियत एकेडेमी अफ साइन्सेज अन ओरिएन्टल स्टडिज इन्स्टिच्युटमा रिसर्च फेलो रहिन्। देवकोटाले दिएको धाराप्रवाह प्रवचन सुनेर नेपाली साहित्यको खोजमा होमिएकी ल्युदमिला नेपाल आइन् र सन् १९८६ मा आफ्नो विद्यावारिधि पनि ‘आधुनिक नेपाली कवितामा साहित्यिक परम्पराको रूपान्तरण’ शीर्षकमा गरिन्।

सन् १९६० मा ल्युदमिलाको ‘आधुनिक नेपाली कविताको विकासका मुख्य प्रवृत्तिहरू’ लेख ‘प्राच्य अध्ययनका समस्याहरू’ जर्नलमा प्रकाशित भयो। अगानिनाको पहिलो मोनोग्राफ ‘नेपाल लिटरेचरर्स ए ब्रिफ स्केच’ सन् १९६४ मा प्रकाशित भएको थियो।

यो पुस्तकले आदिकवि भानुभक्त आचार्यदेखिको नेपाली साहित्यको विकासको समग्र चित्र प्रस्तुत गर्छ। सन् १९६७ मा प्रकाशित ‘आधुनिक नेपाल’ सङ्ग्रहमा ल्युदमिलाको ‘साहित्य’ र ‘थिएटर र नाटक’ लेखहरू संलग्न छन्। यसका लेखकहरू सोभियत एकेडेमी अफ साइन्सेज प्राच्य अध्ययन संस्थानका नेपाली अनुसन्धानकर्ताहरू एके इझोभ, एनआई कोरोलेभ थिए। ल्युदमिला सन् १९६८ मा प्रकाशित ३८ हजार शब्दले भरिएको ‘नेपाली–रुसी शब्दकोश’ सम्पादन टोलीमा पनि संलग्न रहिन्।

देवकोटाबारे सोभियत विदुषी ल्युदमिला अलेक्सान्द्रेभ्ना अगानिनाले १३६ पृष्ठको ‘नेपाली कविको कथा (लक्ष्मीप्रसाद देवकोटाको जीवन र सिर्जना)’ नामक कृति लेखिन्। यो सन् १९७० मा सोभियत विज्ञान एकेडेमी, प्राच्य अध्ययन संस्थानले प्रकाशन गरेको थियो। उनले राल्फाली आन्दोलनलाई समेत नियालिन् र ‘राल्फाली कविता र आधुनिकतावाद’बारे सन् १९७७ मा ‘वैचारिक संघर्ष र विदेशीपूर्वको आधुनिक साहित्य’मा लेखिन्। उनको सन् १९८५ मा प्रकाशित मोनोग्राफ ‘आधुनिक नेपाली कवितामा मानिस, समाज, धर्म’ले नेपाली साहित्यको विकास र यसको आधारभूत अस्तित्ववादी र मानवीय विचारहरूको समीक्षा गर्छ।

एक समय अगानिना कृष्णप्रकाश श्रेष्ठको थेसिसको सुपरभाइजर थिइन्। कृष्णप्रकाशसँग मिलेर उनले ‘कलचुन्डा चराको चुच्चो र खुट्टा किन सुनौलो हुन्छ’ र ‘नेपाली परी कथाहरू’को रुसी अनुवादसहित धेरै कृति लेखिन्। सन् १९९८ मा प्रकाशित ‘आधुनिक नेपाली कवितामा ठोस र तरल पदार्थको प्रतीकवाद–पूर्वको साहित्यमा छविको अर्थशास्त्र’ सायद उनको अन्तिम कृति हो। नेपाली साहित्यलाई रुसी संसारमा प्रसार गर्न ल्युदमिला अलेक्सान्द्रेभ्नाको ठुलो योगदान छ।

रुसी भाषामा देवकोटाका काव्यहरू अनुवाद भएका छन्। तिनमा ल्युदमिला अगानिना र कृष्णप्रकाशबाट अनुदित ‘लक्ष्मीप्रसाद देवकोटा: सङ्कलित रचना’, ल्युदमिला साल्तिकोभा र कृष्णप्रकाश श्रेष्ठबाट अनुदित ‘सुनको बिहान’ र फुटकर रचना ‘नेपाली साहित्य’ पर्छन्। उनले अन्य लेखकसँग पनि ‘नेपाली कविहरूको कविता’ र कथासङ्ग्रह ‘आमाको ममता’ अनुवाद गरेकी छिन्।

केही व्यक्तिले देवकोटाले ल्युदमिला अगानिनाप्रति प्रेम र आशक्ति देखाएको र उनले ल्युदमिलाको फोटो गोजीमा राख्दै हिँडेको वर्णन पनि गरेका छन्। कतिपयले यसलाई मनगढन्ते किस्सा भएको भनी खण्डन पनि गरेका छन्।

देवकोटाले ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक’ प्रसिद्ध कविता लेखेका थिए। यो कविता लेख्दा धेरैले उनलाई तरङ्गी भने। यो अचम्मको संयोग मान्नुपर्छ कि महाकविको निधन हुनुभन्दा दुई दिनअघि मात्रै  १२ सेप्टेम्बर १९५९ मा सोभियत संघले प्रक्षेपण गरेको लुना–२ अन्तरिक्ष यान पहिलोपटक चन्द्र धरातलमा ओर्लिएको थियो। १४ सेप्टेम्बर १९५९, सोमबार साँझ ६ बजे यी महामानवले धरतीबाट महाप्रस्थान गरे। ल्युद्मिलाले लेखिन्ः ‘सायद सोभियत अन्तरिक्ष यानले महाकविलाई चन्द्रमामा लिएर गयो।’

देवकोटालाई नजिकबाट चिन्ने र नेपाल र नेपालीलाई असाध्य माया गर्ने रुसी विदुषी ल्युदमिला अगानिनाले पनि २५ डिसेम्बर २००० मा  संसार छोडिन्।

प्रकाशित: ५ माघ २०८१ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App