राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिने न्यायाधीश नितिज राईविरुद्ध युवराज पौडेल (सफल)ले न्याय परिषद्मा थप तीन बुँदे ध्यानाकर्षण पत्र दिएका छन् । बुधवार न्याय परिषद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएको सफलले जानकारी दिए ।
ध्यानाकर्षण पत्रमा सफलले न्यायाधीश नितिजविरुद्ध उठेका विषय र प्रसङ्ग भन्दै तीन बुँदामा कुरा राखेका छन् ।
जसमा न्यायाधीश राई न्याय सेवाअन्तर्गतको कर्मचारी रहँदा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठनमा आबद्ध भएको भन्ने खबर सुनिन आएको भनेका छन् । हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रास्वपा सभापति लामिछानेलाई बचाउन लागेकाले दाहालकै निर्देशनमा न्यायाधीश राईले धरौटीमा छाड्न आदेश दिएको सुनिन आएको दाबी गरेका छन् । यस विषयमा छानबिनको माग सफलले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
यस्तै दोस्रो बुँदामा उनले न्यायाधीश राई विगतमा वरिष्ठ अधिवक्ता सुशील पन्तको ल फर्ममा प्रशिक्षार्थीका रूपमा काम गरेको भन्दै प्रश्न उठाएका छन् । वरिष्ठ अधिवक्ता पन्त अहिले रास्वपा सभापति लामिछानेको पक्षमा वकालत गरिरहेका छन् । राईकै इजलासमा उनले लामिछानेको प्रतिरक्षा बहस गरेका थिए ।
यसमा न्यायाधीश राईले प्रशिक्षार्थीको ‘नैतिकता नदेखाई स्वार्थ बाझिने हिसाबले इजलासमा सुनुवाइ गर्न बसेको अवस्था रहेछ ।’ भन्दै सफलले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
यस्तै तेस्रो बुँदामा सफलले न्यायाधीश राईले आदेशलाई ‘कपीमा आदेश’ भन्दै प्रश्न उठाएका छन् । ‘योजनाबद्ध रूपमा प्रतिवादीलाई उन्मुक्ति दिने र सहकारी पीडितलाई अन्याय गर्न लागेको देखिन्छ,’ सफलले पत्रमा लेखेका छन्।
यस्ताे छ सफलकाे पत्रकाे व्यहाेरा
प्रकाशित: २ माघ २०८१ १४:३० बुधबार