स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्ने तयारी गरेको छ।
सोमबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले परिमार्जनका लागि मस्यौदा तयार भइसकेको जानकारी गराए।
डा. पोखरेलले मस्यौदालाई छलफलका लागि छिट्टै संसदीय समितिमा पठाइने बताए। साथै, उनले आमा सुरक्षा योजना सरकारको मुख्य प्राथमिकता भएको उल्लेख गर्दै देशभर स्वास्थ्य सेवा सुधारमा मन्त्रालयले सक्रियता देखाएको जानकारी दिए।
मन्त्रालयले आमाको दूधबाट वञ्चित बालबालिकाको लागि मिल्क बैंक स्थापना गरेको छ। डा. पोखरेलले यो सुविधा अन्य प्रादेशिक र निजामती अस्पतालमा पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको जनाए।
स्वास्थ्य बीमा नवीकरणको अभावले औषधि व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै डा. पोखरेलले औषधि बीमाबाट उपलब्ध गराउने वा नगर्ने विषयमा नीतिगत छलफल आवश्यक रहेको बताए। ‘स्वास्थ्य बीमामा नवीकरण नभएकाले औषधि व्यवस्थापनमा समस्या भइरहेको छ। गलत औषधिको नाफाका लागि प्रयोग भइरहेको पाइएको छ। यसलाई रोक्न नीतिगत बहस अनिवार्य छ।’
डा. पोखरेलले मानसिक स्वास्थ्य सेवाका लागि नर्सहरूको अभाव रहेको स्वीकार गर्दै यसको व्यवस्थापनमा मन्त्रालय लागिपरेको जानकारी दिए।
बैठकमा डा. पोखरेलले स्वास्थ्य सेवामा सुधारको लागि मन्त्रालय निरन्तर प्रयत्नरत रहेको र ऐन निर्माण तथा छलफल प्रक्रियामा भएका गुनासाहरू सुधार गरिने प्रतिबद्धता व्यक्त गरे।
सोमबारको बैठकमा देशभरको स्वास्थ्य सेवाको अवस्था सुधार गर्न मन्त्रालयले चालेका कदमबारे व्यापक छलफल भएको थियो।
प्रकाशित: २९ पुस २०८१ १९:१७ सोमबार