नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन्।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए बिरोध गर्ने बताएका हुन्।
उनले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताए। उनले संसदको हिउँदे अधिवेशन छिटो संचालन गर्न माग समेत गरे।
उनले कांग्रेस–एमाले समिकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाए। उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरु ल्याएर संसदमा राख्ने पनि बताए। माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उहाँले स्पष्ट पारे।
पाण्डेले भने, ‘अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरुमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं । तर सरकार जसरि अध्यायदेशबाट विधेयकहरु ल्याइरहेको छ यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरुको सम्बोधन गर्न सक्दैन । त्यसकारणले छिटोभन्दा छिटो संसद बोलाउनुपर्छ । संसदमै बसेर सरकारले विधेयकहरु प्रश्तुत गरेर विधेयकका कामलाई तिब्रताका साथ अगाडि बढाउनुपर्छ । संसदलाई यसरि छल्ने कुरा सरकारका लागि बेठिक छ । हामीले यसको विरोध गरेका छौं । यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन । हाम्रो अहिले सरकार बनाउने प्राथमिकता होइन । अहिले हाम्रो अभियानको रुपमा जनतासँग जाने कुरामा जोड छ । छिटो संसद चलाउनुपर्छ । संसदमा हामी जनताका कुराहरुलाई उठाउँछौं ।’
प्रकाशित: २८ पुस २०८१ १८:२६ आइतबार





