नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले रास्वपा सभापति रवि लामिछानेलाई अदालतले निर्दोष भनेर नछाडेको बताएका छन् । शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
‘उ त छुट्यो भनेर हल्ला मच्चाइरहेका छन्’, प्रवक्ता महतले भने,‘धरौटी के को लागि ६५ लाख ? अदालतले यो–यो कारणले नराखीकन छोड्न मिल्दैन भने पछि । केही समस्या नभएको भए धरौटी माग्थ्यो ?’
रवि निर्दोष भएको भए अदालतले सोझै छाड्ने अवस्था आउने उनले बताए । उनले भने, ‘सरकारले गलत मुद्दा दायर गरेको रहेछ भनेर अदालतले सिधै छोडिदिन्थ्यो ।’
धरौटी माग्नुको अर्थ त्यहाँ केही समस्या छ भन्ने रहेको महतले बताए । ‘मुद्दा नटुंगिदासम्म ६५ लाख तपाईँले राखेर बल्ल बाहिर जान पाउनु हुन्छ भनेर त्यो सहुलियत दिएको हो । अदालतले निर्दोष हो भनेको होइन’ महतले भने ।
प्रकाशित: २७ पुस २०८१ १७:१४ शनिबार