२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिक दलसम्बन्धी अध्यादेशको त्रासमा माधव, दाहाल गुहार्दै

नेकपा (एकीकृत समाजवादी) दल विभाजनसम्बन्धी अध्यादेशको त्रासमा छ। एकीकृत समाजवादीलाई नै लक्षित गरेर प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ।

यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लाई गुहारिरहेका छन्। उनले शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए।

उनले शुक्रबार (आज) पनि फेरि भेट्दैछन्। भेटमा राजनीतिक दलसम्बन्धी अध्यादेश आउन दिन नहुनेमा कुराकानी हुने गरेको छ। आजको भेटको विषय पनि त्यही हुने एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नागरिकलाई बताए।

यसअघि पनि एकपटक अध्यादेश आउने बताइएको थियो। त्यसपछि एकीकृत समाजवादीको अगुवाइमा माओवादी केन्द्रसहित अन्य विभाजनउन्मुख दलहरूले त्यसको विरोध गरेका थिए। यसपछि प्रधानमन्त्री ओली रोकिएका थिए।

तर, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्यादेशको मस्यौदा तयार गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका थिए। यसपछि झन् त्रसित बनेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तत्कालका लागि अध्यादेश रोक्न सफल भएका थिए।

तर, फेरि यो विषय बल्झिएको छ। अहिले पनि प्रधानमन्त्री ओली यसको कसरतमा रहेको बताइन्छ। यससँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर भेटिरहेका छन्।

माधवलाई किन अध्यादेशको डर बढी ?

२०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादी पूर्वएमाले नै हो। एमालेका तत्कालीन वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेर बनाएको एकीकृत समाजवादी यहाँसम्म आइपुग्दा आफैँले विभाजनको डर खेप्नुपरेको छ।

३० सांसद र ५५ केन्द्रीय सदस्य लिएर बनेको पार्टीले पछिल्लो संसदीय निर्वाचनमा तीन प्रतिशतको थ्रेसहोल्ड पनि कटाउन सकेन। यसर्थ, अहिले यो दल राष्ट्रिय पार्टी छैन। तर, प्रत्यक्षतर्फबाट १० सिट जितेको छ।

तर, १० सांसदमध्ये पनि सबै पार्टीमा खुसी छैनन्। किसन श्रेष्ठ, अम्मरबहादुर थापालगायतका सांसदहरू पार्टीमा खुसी नरहेको बताइन्छ। उनीहरूले एमालेका नेताहरूसँग पनि संवाद गरेका छन्। 

यता पार्टीकी पूर्वसचिव रामकुमारी झाँक्री, प्रेम आलेलगायतका नेताहरू पनि एकीकृत समाजवादीमै रहने मनस्थितिमा छैनन्। पार्टी महाधिवेशनमा उपाध्यक्षमा पराजित रामकुमारी झाँक्रीले यसअघि एकीकृत समाजवादीको उपाध्यक्ष पद गुमाउँदा आफू खुसी नै रहेको बताएकी थिइन्। एकीकृत समाजवादीको उपाध्यक्ष पदले जीवनमा तात्त्विक फरक नपर्ने उनको आशय थियो। त्यही मेसोमा उनले यो पनि भनेकी थिइन् कि पार्टीले माओवादी केन्द्र वा अरु दलसँग एकता गर्‍यो भने ठूलै सङ्ख्यामा नेताहरू एमाले मिसिने छन्।

यसकारण पनि माओवादी केन्द्रलगायतका आफ्नो भन्दा ठूलो आकार भएका पार्टीहरूसँग एकता नगर्ने निर्णयमा पुगेका माधवकुमार नेपाललाई फेरि अध्यादेशको त्रास आइलाग्यो। यसर्थ, पनि अध्यादेशको डर माधवलाई बढी छ। केही गरी अध्यादेश आयो भने एकीकृत समाजवादी विभाजन हुँदैन भन्न सकिने अवस्था छैन। 

यो पनि पढ्नुहोस्

दाहाल भेट्दै माधव

प्रकाशित: २६ पुस २०८१ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App