२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मदन भण्डारी पुरुष भलिबलको उपाधि त्रिभुवन आर्मीलाई

त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप-२०८१ को उपाधि जितेको छ।

बुटवलको रामनगर खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई रोमाञ्चक खेलमा ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।

आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२, र १५–७ को सेट स्कोरमा हराएको थियो। उपाधिसँगै आर्मीले नगद ७ लाख रुपैयाँ, शिल्ड र ट्रफी हात पारेको छ। उपविजेता पुलिस क्लबले नगद ३ लाख ५० हजार रुपैयाँसहित शिल्ड प्राप्त गर्‍यो।

प्रतियोगितामा तृतीय स्थान मणिमुकुन्द भलिबल क्लबले हासिल गर्‍यो। भारतको गुजरात स्टेट भलिबल क्लबले तेस्रो स्थानका लागि हुने खेल नखेल्ने निर्णय गरेपछि मणिमुकुन्दले नगद १ लाख ७५ हजार रुपैयाँ र मेडल जित्यो। भारतीय टिमले सान्त्वना पुरस्कार स्वरूप १ लाख रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्‍यो।

त्रिभुवन आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए। उनले नगद २५ हजार रुपैयाँ जिते। अन्य उत्कृष्ट खेलाडीहरूमा आर्मीका लोकबहादुर बुढा (श्रेष्ठ प्रशिक्षक), ईश्वर थापा (श्रेष्ठ लिबेरो), दुर्गाप्रसाद महतो (श्रेष्ठ सेटर) परेका छन्।

नेपाल पुलिसबाट सञ्जु बिक्रम शाहले श्रेष्ठ आउटसाइडर, रविन चन्दले श्रेष्ठ अपोजिट प्लेयर, र रविन नगरकोटीले श्रेष्ठ मिडल बलरको पुरस्कार जिते। प्रत्येक उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाए।

विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरूलाई बिहीबार आयोजित विशेष कार्यक्रमकाबिच आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, र प्रदेश सांसद विष्णु पन्थीलगायतले पुरस्कार वितरण गरे।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा यो प्रतियोगिता आयोजना गरेको हो। बुटवलको रामनगर खेल मैदानमा सम्पन्न प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो।

प्रकाशित: २५ पुस २०८१ २०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App