२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सट्टा शिक्षक राख्ने विद्यालयलाई कारबाही गर्न रास्वपा ताप्लेजुङको माग

राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले सट्टा शिक्षक राख्ने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।

पार्टीले सट्टा शिक्षकलाई ‘खेताला शिक्षक’को संज्ञा दिदैं यस्तो कार्य तत्काल हटाउन शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङको ध्यानाकर्षण गरेको हो ।

रास्वपा ताप्लेजुङका तर्फबाट सभापति वीरेन्द्र श्रेष्ठले शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै ‘खेताला शिक्षक’ राख्ने प्रवृत्तिको अन्त्य गरी शिक्षालाई गुणस्तरीय बनाउन अतिशीघ्र पहलकदमी लिन आग्रह गरेका छन् ।

रास्वपाले जिल्लामा कुन कुन विद्यालयमा कुन कुन शिक्षकबाट यस्तो कार्य भइरहेको हो,सहयोगी भूमिका कुन प्रधानाध्यापक संलग्न छन् भन्ने विषयको जाँचबुझ गरी यस्तो कार्यमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन समेत माग गरेको छ । रास्वपाले राज्यमार्फत शिक्षामा स्पष्ट वर्गीकरण गरी विपन्न र सम्पन्नका विद्यार्थीले पढ्ने विद्यालय,पुस्तक र वातावरण समेतमा विभेद गरेको आरोप समेत लगाएको छ ।

रास्वप ताप्लेजुङले सट्टा शिक्षकका सम्बन्धमा भइरहेको यस्तो गलत कार्य पत्ता लगाई कारबाही प्रकृया अघि बढाउन र समस्या निराकरणका लागि सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालयलाई र आ–आफ्नो पालिका भित्रका विद्यालयहरूमा भइरहेको सट्टा शिक्षक राख्ने प्रवृत्तिको गहिरो अध्ययन गरी यस्तो प्रवृत्ति हटाउने कार्यमा सहयोग गरिदिन यहाँका ९ वटै स्थानीय तहहरूमा समेत बोधार्थ दिएको जनाएको छ ।  

प्रकाशित: २५ पुस २०८१ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App