नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कांग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन्। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्शानी मात्रै हुने बताए।
उनले छिमेकी जिल्लाहरु बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताए। उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे।
मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उद्देश्य नरहेको उनले बताए। विमानस्थलहरु चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने बताए।
प्रकाशित: २५ पुस २०८१ १२:३९ बिहीबार