राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने सन्दर्भमा अहिले सर्वाधिक अनुकूल अवस्था रहेको विश्लेषण गरेका छन्। भर्खरै सकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष थापाले यस्तो विश्लेषण गरेका हुन्।
यो अवस्थालाई राजसंस्था र हिन्दुराष्ट्रको पक्षधरहरूले नबुझेको उल्लेख गर्दै उनले भनेका छन्, 'राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने सन्दर्भमा अहिले सर्वाधिक अनुकूल अवस्था बनेको छ। सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रका संवाहकहरूप्रति तीव्र वितृष्णा देखिएको तथा जनताले कंग्रेस-कम्युनिष्टको विकल्प खोजिरहेको विद्यमान परिस्थितिमा समेत राजावादी र हिन्दुवादीहरू एकठाउँमा उभिन नसक्नु उदेकलाग्दो छ।'
यस्तै अध्यक्ष थापाले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधन गठबन्धन परिवर्तनको बहाना मात्र बनाएको बताएका छन्। 'कांग्रेस-एमालेको भित्री मनसाय आफूलाई चुनौती दिने र प्रतिस्पर्धामा आउन सक्ने दलहरूलाई निषेध गरी कथित दुईदलीय व्यवस्था कायम गर्न संविधानमा संशोधन गर्ने रहेको देखिन्छ,' अध्यक्ष थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्।
समानुपातिक र समावेशी मान्यतालाई कमजोर बनाउने र समानुपातिक निर्वाचनको थ्रेसहोल्ड बढाएर साना र उदयीमान दलहरूको प्रतिनिधित्व शून्य बनाउने ध्याउन्नमा कांग्रेस-एमाले लागेको आरोप अध्यक्ष थापाको छ। 'यस्तो प्रवृत्तिले प्रजातन्त्रलाई कमजोर बनाउने र निरंकुशताको पक्षपोषण गर्नेछ,' उनले भनेका छन्।
अध्यक्ष थापाले संसद्का दुई पहिलो र दोस्रो दलहरू मिलेर सरकार बनाउनु पहिलो नजरमा नै अस्वाभाविक र अप्रजातान्त्रिक हुने बताएका छन्। 'तर, अहिले नेपालमा जे पनि चल्छ भन्ने मान्यता विकास भएको छ,' उनले भनेका छन्।
प्रतिवेदनको पूर्णपाठ-
प्रकाशित: २४ पुस २०८१ १६:२४ बुधबार