नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थिति झन् जटिल र पेचिलो बन्दै गएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन्।
बैठकपछि पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै आगामी पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरिएको जानकारी दिए।
सापकोटाका अनुसार बैठकमा अध्यक्षले समसामयिक राजनीतिबारे आफ्ना धारणा राख्दै देशको परिस्थिति जटिल बन्दै गएको उल्लेख गरे।
सापकोटाले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणको सट्टा भ्रष्टाचारीलाई जोगाउने काम गरेको आरोप लगाए। "विद्युत महसुल नतिर्नेहरूको रकम मिनाहा गर्न प्रधानमन्त्री र ऊर्जा मन्त्रीले निरन्तर दबाब दिइरहेका छन्," उनले भने "भूटानी शरणार्थी प्रकरण, सुनकाण्ड, गिरिबन्धु चिया बगान प्रकरणजस्ता मुद्दालाई ढाकछोप गरिएको छ।"
उनले प्रतिपक्षीहरूलाई खोजी-खोजी कारबाही गर्ने तर आफ्ना व्यक्तिहरूलाई संरक्षण दिने प्रवृत्ति हावी भएको दाबी गरे। सापकोटाले कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलकी श्रीमतीको उदाहरण दिँदै सरकारले पक्षपातपूर्ण रवैया अपनाएको आरोप लगाए।
सापकोटाले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल कार्यालय नगएको र विश्वविद्यालयको सिनेट बैठक सिंहदरबारमा बस्नु ऐतिहासिक रूपमै गलत रहेको बताए। "त्रिभुवन विश्वविद्यालयमा दबाबको कारण यस्तो परिस्थिति सिर्जना भएको छ। सेवा प्रवाह र सुशासन कायम गर्नुपर्ने सरकार उल्टो दिशामा गएको छ," उनले भने।
सापकोटाले सरकार निरन्तर अधोगतितर्फ उन्मुख भएको भन्दै पूर्ण रूपमा असफल भएको टिप्पणी गरे। "नेपाल नेपालीहरूको हो, नेपालीहरूले नै चलाउनुपर्छ भन्ने आवाज उठाउन अब आवश्यक छ," उनले भने।
स्थायी समिति बैठकले आगामी कार्ययोजना, राजनीतिक प्रतिवेदन, र समसामयिक प्रस्तावहरू तयार गर्ने निर्णय गरेको छ। अध्यक्ष दाहालले पुस २१ गतेको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने जनाइएको छ।
प्रकाशित: १८ पुस २०८१ २०:०० बिहीबार