२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

के जनमत र नाउपाबीच एकता हुँदैछ ?

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।

यसपछि जनमत र नाउपाबीच पार्टी एकता हुने चर्चा सुरु भएको छ। तर, भइरहेका संवादहरू पार्टी एकताकै लागि भने नभएको जनमतका प्रवक्ता शरदसिंह यादवले बताए।

'संवाद भइरहेको हो तर, त्यो पार्टी एकताकै लागि भने होइन,' उनल भने, 'संविधान संशोधनलगायतका विषयहरू छन्। ती नै विषयहरूमा छलफल भइरहेको हो।'

उनले खासगरी मधेसकेन्द्रित दलहरूका बीचमा कार्यगत एकताका लागि प्रयास भइरहेको बताएका छन्। 'मुद्दा मिल्ने कुरामा सामूहिक रूपमा जाऔँ भन्ने कुरा हो,' उनले भने।

यता जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीले मधेशकेन्द्रित दलहरूसँग संवाद गरिरहेका छन्। उनी मधेशवादी मोर्चा बनाउन प्रयासरत छन्। तर, राउत र चौधरी भने त्यस मोर्चाका प्रति गम्भीर छैनन्।

ठीक यहीबेला राउत र चौधरीबीच भएको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसबारे थप जिज्ञासा राख्दा जनमतका उपाध्यक्ष अब्दुल खान भन्छन्, 'संवाद हुनेबित्तिकै पार्टी एकता हुन्छ भन्ने हुँदैन। संवाद त सबै पार्टीसँग भइरहेको छ। तर, कार्यगत एकताका लागि प्रयास भइरहेको होला। यो अहिलेको राजनीतिक आवश्यकता पनि हो।'

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पनि जनमतसँग एकता हुनेबारे आफूलाई जानकारी नभएको बताउँछन्। 'एकता हुने कुरा भएको भए मलाई थाहा हुन्थ्यो। अहिलेका लागि त्यस्तो छैन,' उनले भनिन्।

त्यसो त यसअघि यी दुई दलसहित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच कार्यगत एकताका लागि प्रारम्भिक समझदारी बनेको थियो। यसबारे पनि छलफल भइरहेको नेताहरूको दाबी छ। 

यो पनि पढ्नुहोस्

लोसपा–जनमत–नाउपा कार्यगत एकता

प्रकाशित: १८ पुस २०८१ १९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App