नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा मुलुकमा १६ भन्दा बढी विमानस्थल बन्द भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले लहडमा गरिएका निर्णयका कारण विमानस्थलहरूबाट अपेक्षित प्रतिफल प्राप्त नभएको टिप्पणी गरे।
अध्यक्ष नेपालले कुनै पनि परियोजनामा लगानी गर्ने क्रममा त्यसको आवश्यकतामाथि गहिरो अध्ययन र प्रतिफलमाथि ध्यान दिनुपर्ने बताए। “हामी योजनाबिनै लहडको भरमा निर्णय गर्छौं, परियोजना तय गर्छौं, तर प्रतिफल प्राप्त हुँदैन। लगानी भनेको प्रतिफलका लागि हो, पैसामात्र डुबाउनका लागि होइन,” उनले भने।
अध्यक्ष नेपालले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा निर्माण गरिएको हो भन्ने प्रश्न उठाउँदै, यसको हालको अवस्थाले प्रभावकारी सेवा दिन नसकेको तर्क गरे। “लुम्बिनी विमानस्थल जुन स्थानमा बनाइएको छ, त्यो चलायमान बन्न सक्ने अवस्था छैन भन्ने सबैले भन्छन्,” अध्यक्ष नेपालले थपे।
उनले मुलुकमा १६ भन्दा बढी विमानस्थल बन्द रहेको जानकारी दिँदै हाल यो संख्या बढेर १८ पुगेको हुन सक्ने उल्लेख गरे। विमानस्थलहरूको वर्तमान स्थिति र उपयोगिताबारे प्रतिवेदन पेश गर्न सरकारलाई आग्रह गर्दै उनले त्रिभुवन विमानस्थलको विकल्प निजगढ विमानस्थल मात्र रहेको स्पष्ट पारे।
लुम्बिनी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा उपयोग गर्न सकिने भए पनि यो काठमाडौंको विकल्प बन्न नसक्ने उनको भनाइ छ। भारतको सीमाबाट टाढा राखिएको स्थानमा प्रभावकारी विमानस्थल सञ्चालन सम्भव नहुने धारणा अध्यक्ष नेपालले व्यक्त गरे।
अध्यक्ष नेपालले भैरहवा विमानस्थललाई घरेलु उडानका लागि मात्र प्रयोग गर्न सुझाव दिँदै, मुलुकका विमानस्थलहरूको प्रभावकारी सञ्चालनका लागि ठोस योजना आवश्यक रहेको औंल्याए।
प्रकाशित: १८ पुस २०८१ १७:१४ बिहीबार