१८ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी: उपसभामुख राना

उपसभामुख इन्दिरा राना मगरले नेपाली कला, संस्कृति, सम्पदा र इतिहासको संरक्षण तथा अभिलेखीकरण गर्न जरुरी रहेको बताएकी छन्।

नेपालमा व्यवस्थित अभिलेख नभएको र भएका अभिलेख पनि व्यक्तिले संरक्षण गरेर राखेको पाइएको उल्लेख गर्दै उनले राज्यले नै कला, संस्कृति र इतिहास संरक्षण गर्न आवश्यक देखिएको जिकिर गरिन्।

काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भएको सिसी कला प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले भनिन, “नेपाली इतिहास दबिँदै गएको छ, यसको संरक्षण गर्न जरुरी छ।”

उनले सिसीभित्र नेपालका सुन्दर इतिहास, कला संस्कृति, सम्पदा उतारिनु अनुकरणीय काम भएको उल्लेख गरिन्।

उपसभामुख रानाले भनिन्, “यहाँ कला जस्ताको त्यस्तै सिसाभित्र उतारिएको छ, यस्तो अरु देशमा देखेकै छैन।” यस्ता इतिहास संरक्षण हुँदा पर्यटन विकासमा टेवा पुग्ने र ती कलाहरु बालबालिकाका लागि सिकाइ हुने उनले बताइन्।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कार्यवाहक कुलपति लालकाजी लामाले वास्तु संरचना र इतिहासलाई सिसाभित्र प्रस्तुत गरिनु महत्वपूर्ण भएको बताए।

प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले नेपालमा नेपाली कलाकारले सिसाभित्र कला कोरेको र प्रदर्शनी गरेको यो नै पहिलो भएको दाबी गर्दै यस्ता कला संस्कृति जोगाउन जरुरी रहेको सुनाए।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवा, अरुणा हिङमाङ, डा राजु मानन्धरलगायतले आ–आफ्नो धारणा राखेका थिए। प्रदर्शनी एक सातासम्म चल्ने छ।

प्रकाशित: १५ पुस २०८१ २०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App