२१ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराबाट अन्तर्राष्ट्रिय उडान नभए लगानी जोखिममा पर्ने व्यावसायीको चिन्ता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका दुइवर्ष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुईवर्ष पुग्यो। सन् २०२३ को पहिलो दिन विमानस्थल उद्घाटन भएको थियो। यो अवधिमा विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। पोखराबाटै अन्तर्राष्ट्रिय गन्तव्यसम्म सिधा हवाई माध्यमबाट जोड्ने पोखरेलीको धोको अझै पुरा भएको छैन। पोखराबाटै नियमित पहिलो अन्तर्राष्ट्रिय उडानको आशामा पोखरा रहेको छ।  

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेसँगै यहाँका व्यावसायी खुसी थिए। पोखरालाई सिधै अन्तर्राष्ट्रिय गन्तव्यसम्म जोड्ने सक्ने र त्यसले पोखरामा विदेशी पाहुना आगमन बढाउने आशामा व्यावसायी थिए। यतिसम्मकी गण्डकी प्रदेश सरकारले समेत पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि विदेशी पाहुनाको आगमन बढ्ने र त्यो आगमनलाई व्यवस्थापन गर्न पोखराका होटलको क्षमताले नभ्याउने भएकोले नयाँ लगानी आवश्यक पर्ने भनेर पर्यटन क्षेत्रमा लगानी गर्न व्यावसायीलाई हौसाएको थियो।  

प्रदेश सरकारको हौसला र विमानस्थल निर्माणले गति लिँदै गर्दा पोखरा मात्र नभई सिंगो गण्डकी प्रदेश निकै नै आशावादी थियो, त्यही अनुसार लगानी थप्न थालिएको थियो। तर, त्यो आशा दुइवर्ष पुग्दा समेत वास्तकवितामा परिणत हुन सकेको छैन। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने नै अहिलेसम्म टुंगो छैन। अन्तर्राष्ट्रिय उडानको आशैआशमा पोखरा रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको माग गर्दै मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र राजनीतिक दलका शीर्ष नेतालाई गुहार्न थालेको दुइवर्ष कटिसक्दा पनि व्यावसायीको त्यो गुहार अहिलेसम्म कतै सुनुवाई भएको छैन।  

विमानस्थलबाट अहिलेसम्म डेमो, चार्टर र राहतका सहित दुईवर्ष अवधिमा जम्मा ११ वटा उडान भएका छन्। तर, नियमित उडानको भने कुनै संकेत नै छैन। 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुईवर्ष भयो। तर, कहिले देखि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर भन्न सकिने अवस्था छैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सह–प्रवक्ता ज्ञानेन्द्र भुल भन्छन, ‘कहिलेदेखि अन्तर्राष्ट्रिय उडान होला भनेर पनि भन्न सकिन्न।’

प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले सातामा एकपटक चीनको ल्हासादेखि पोखरासम्मको उडान गर्ने योजना बनाएपनि त्यसको पनि तिथि तय भएको छैन। यसअघि पनि पोखरामा विभिन्न अन्तर्राष्ट्रिय उडान हुने योजना बाहिर आएपनि ती हवाई कम्पनिले उडान भने थालेका छैनन।

‘जुनसुकै अन्तर्राष्ट्रिय हवाई कम्पनिले पनि कुनै गन्तव्यमा उडान गर्दा व्यावसायिक सम्भावना हेर्छ। पोखराले व्यावसायिक सम्भावना पुष्टि गर्न नसक्दा उडान हुन सक्ने अवस्था नदेखिएको हो,’ प्राधिकरणका पोखरास्थित एकजना अधिकारीले भने, ‘पोखराले व्यवासायिक क्षमता पुष्टि गर्नुपर्छ। कुनैपनि उडानमा पर्याप्त यात्रु हुन्छन भन्ने पोखरालाई निश्चित गर्न सकेमा मात्र उडान सुचारु हुन सक्छ।’

पर्यटन व्यावसायी पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत विभिन्न मुलुकमा जोड्ने सपना पुरा नहुँदा लगानी नै जोखिममा पर्ने अवस्था रहेको बताउँछन्। पर्यटन व्यावसायी पोमनारायण श्रेष्ठले समयमै विमानस्थल बन्ने र अन्तर्राष्ट्रिय उडान हुने भनेर गण्डकी प्रदेश सरकारले आश्वासन दिएपनि त्यो पुरा नभएको बताउँछन्। प्रदेश सरकारका मन्त्रीहरुले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशी पाहुनाको भीड थेग्नका लागि गुणस्तरीय पूर्वाधार थप्नुपर्ने भन्दै लगानी गर्न हौस्याएको उनी सम्झान्छन।  

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुरु भयो। विमानस्थल बनिसक्दा पर्यटनका पूर्वाधार पनि तयार हुनुपर्छ भनेर प्रदेश सरकारले पनि व्यावसायीलाई लगानी गर्न हौसायो। हामी पनि प्रदेश सरकारले भनेपछि अवश्य उडान हुन्छ भनेर लगानी थप्यौ,’ पोखरामा संचालन भईरहेको पोखरा अल्ट्रालाइट कम्पनिका संचालक श्रेष्ठ भन्छन, ‘तर, विमानस्थल उद्घाटनको दुइवर्ष बितिसक्दा अन्तर्राष्ट्रिय उडानको कुनै टुंगा नै लागेन। आशैआशमा दुइवर्ष बित्यो।’

उनका अनुसार अझै पनि उडान गर्न ढिला हुने हो भने पोखराको लगानी जोखिममा पर्ने खतरा बढेको छ। ‘दुइवर्ष त थेग्यौ। अब धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले छिटो भन्दा छिटो नियमित अन्तर्राष्ट्रिय उडान गर्न ढिला गर्न हुँदैन। नत्र व्यावसायीले गरेको लगानी डुब्नेछ।’ प्रदेश र संघीय सरकारले समेत भनेपछि पर्यटन व्यावसायीले होटल, रेस्टुरेन्ट र साहसिक गतिविधिमा लगानी बढाएको उनी बताउँछन्। पोखरा मात्र नभई आसपासका क्षेत्रमा पनि पर्यटकीय पूर्वाधारमा विमानस्थल देखेरै लगानी गरेको उनले बताए।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास हुँदादेखि नै पर्यटन क्षेत्रमा लगानी थप्न सुरु भएको हो। विमानस्थल तयार हुनेबेलासम्म होटल रेस्टुरेन्टका पूर्वाधार पनि तयार भए। तर, उडान भएन,’ उनले भने, ‘व्यवासायीको लगानी सुरक्षित भएन। यस्तै अवस्था रहे धेरै व्यावसायी डुब्नेछन्।’ ध्वजाबाहक नेपाल एयरलाइन्सले मात्र भएपनि पोखराबाट कतै नियमित उडान गरिदिएको खण्डमा पोखराले राहतको सास फेर्न सक्ने उनले बताए।

उनका अनुसार पोखराबाट भारत, मलेसिया, दुबइ, दोहा, थाइल्याण्डसम्मका गन्तव्यसम्मका हवाई उडानमा यात्रु अभाव हुँदैनन्। ‘हामी छोटो दूरीका गन्तव्यसम्म नियमित उडानका लागि यात्रु जुटाउन लागिपर्नेछौ। तर, उडानको सुनिश्चितता हुनुपर्छ। आजको भोली नै उडान सम्भव हुने होइन,’ उनले भने, ‘नियमित उडान भएमा जहाजका सिट भर्नका लागि यात्रु खोज्ने काममा व्यावसायी लागिपर्नेछन्। हवाईजहाजका सिट रित्ता रहने छैनन्।’ आकर्षक प्याकेज दिएर काठमाडौंका यात्रुलाई पोखराबाटै उड्ने गरि आकर्षण गर्नका लागि पोखरा पछाडि नहट्ने उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष तारानाथ पहारी पनि विमानस्थल संचालनका लागि ठोस पहल कतै नभएको बताउँछन्। ‘अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने केही अनिवार्य काम अहिले पनि काठमाडौंबाट मात्र हुने गरेका छन्। त्यसले गर्दा काठमाडौं नगई नहुने अवस्था रहँदा पनि समस्या भएको छ। अन्तर्राष्ट्रिय उडानमा जाने स्वदेशी नागरिकले लिनुपर्ने स्वीकृतिका ती काम पोखराबाटै भएको खण्डमा पोखराबाटै उडान गर्ने यात्रु हुनेछन,’ पहारी भन्छन। सरकारी कामकै लागि केन्द्रीय राजधानी धाउनुपर्ने बाध्यता नहटेसम्म पोखराबाट उडानमा सहजता नहुने उनले बताए।  

‘सरकारी स्वीकृतिका लागि अहिले पनि काठमाडौं धाउनुपर्ने बाध्यता छ। प्रदेश सरकारले पोखराबाटै ती सेवा दिने हो भने केही यात्रु हुनेछन। त्यसबाहेक अन्तर्राष्ट्रिय बजारीकरणको पनि आवश्यक छ,’ उनले भने , ‘सरकारले पर्यटकीय गन्तव्यमा आक्रामक बजारीकरण गर्ने हो भने सहज हुन्छ।’ सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण भार क्षमतामा संचालन गरिसकेको अवस्थामा पोखरा र भैरहवामा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिलाई बाध्यकारी बनाउने हो भने पनि पोखराबाट उडान हुनसक्ने उनले बताए।  

‘राज्यले काठमाडौंको विमानस्थलको भार क्षमता कट्न थालेको अवस्थामा पोखरा र भैरहवामा डाइभर्ट गर्न हवाई कम्पनिलाई बाध्यकारी बनाउनुको विकल्प छैन,’ उनले भने, ‘सबैले काठमाडौबाट मात्र उडान गर्न खोज्दा यो अवस्था आएको हो।’  

प्रकाशित: १८ पुस २०८१ १७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App