कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गरेका छन्।
आइतबार विराटनगरमा सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको शिक्षा व्यवस्थापन कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघ सरकारलाई सङ्घीय शिक्षा एन चाँडो ल्याउन आग्रह गरेका हुन्।
संघ सरकारले छिटो छरितो ढंगले कानुन नबनाउँदा समग्र शिक्षा क्षेत्र नै प्रभावित भइरहेको उनले धारणा राखे।
‘प्रदेशले सात दिनमा बनाउन सक्ने कानुन संघले सात वर्षमा पनि बनाउन सक्दैन किन हो म छक्क पर्छु’ मुख्यमन्त्री कार्कीले भने ‘संघले चाँडै कानुन बनाएर शिक्षा क्षेत्रका व्यवधानलाई हटाउन पहल गरोस्।’
मुख्यमन्त्री कार्कीले राजनीतिक नेतृत्वले सबै हुन्छ भनेता पनि कर्मचारीले विभिन्न बहाना देखाएर पन्छिने प्रवृत्तिले काम हुन नसकेको औँल्याउँदै यसले गर्दा पनि परिणाम आउन नसकेको धारणा राखे।
कतिपय अवस्थामा सरकार र कर्मचारीको विषय अदालतमा पुग्ने गरेको र ती मुद्दा मामिला अदालतमा लामो समय अड्किँदा पनि काममा समस्या भएको उनको भनाइ थियो। अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधारमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारे।
प्रकाशित: १४ पुस २०८१ १५:११ आइतबार