२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

'कार्यवाहक'ले धानेको रास्वपा !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता भएको छ ।

यससँगै उनले सांसद पद मात्रै होइन, पार्टीको सभापतिसमेत गुमाएका छन् । लगत्तै सोमबार बसेको पार्टी सचिवालयको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई दिएको छ ।

प्रहरी हिरासतमा दुई महिना पूरापुर रहँदासमेत कार्यवाहक सभापति नतोकेका रवि लामिछानेले अदालतमा अभियोगपत्र दर्ता भएपछि भने उपसभापति अर्याललाई कार्यवाहक सभापति बनाए ।

त्यसो त रास्वपा कार्यवाहकमै चलिरहेको छ । रास्वपामा महामन्त्री पनि कार्यवाहकले नै चलाइरहेका छन् । सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी अहिले कार्यवाहक महामन्त्रीको जिम्मेवारीमा छन् । 

संस्थापक महामन्त्री डा. मुकुल ढकाल पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेपछि सहमहामन्त्री बुर्लाकोटी कार्यवाहक महामन्त्रीको जिम्मेवारीमा आएका हुन् ।

रास्वपामा उपसभापति र महामन्त्री मात्रै होइन, प्रवक्तासमेत कार्यवाहकले नै धान्नुपरेको छ । कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा सहप्रवक्ता मनीष झा छन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा पनि कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकाल नै थिए । तर, उनी कारबाहीमा परेलगत्तै प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता झाले लिएका हुन् ।

सभापति रवि लामिछाने राज्यको र महामन्त्री डा. मुकुल ढकाल पार्टीको कारबाहीमा पर्दा रास्वपा कार्यवाहकमा धकेलिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र पर्साको साइनो पाइला सहकारीको रकम अपचलनसम्बनधी प्रकरणमा मुछिएका रवि लामिछाने गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका थिए ।

पक्राउ परेलगत्तै पोखरा पुर्‍याइएका रवि लामिछाने अहिले पनि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । यद्यपि, यसबीचमा उनलाई उल्लिखित सबै जिल्ला पुर्‍याएर सम्बन्धित सहकारीका बारेमा बयान लिइएको थियो ।

उक्त बयान समेटेर प्रहरीले सरकारी वकिलको कार्यालय, कास्कीमा चार सयभन्दा बढी पृष्ठको प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा कार्यालयले जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता गराइसकेको छ । यसपछि उनले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

महामन्त्री डा. मुकुल ढकाल भने पार्टीको कारबाहीमा परेका हुन् । उनले गत असारमा ३९ जिल्ला पुगेर ३२ पृष्ठको प्रतिवेदन पार्टीलाई बुझाएका थिए । त्यहाँ पार्टी नेतृत्वका प्रति अनेकन् प्रश्न, पार्टी र नेतृत्वका प्रति आलोचना र भावी बाटोका बारेमा सुझाव दिइएको थियो । ती आलोचना र सुझावहरू डा. मुकुल ढकालले मनगढन्ते रूपमा लिएर आएको भन्दै रास्वपाले कारबाही गर्‍यो ।

यसपछि महामन्त्री र प्रवक्ता कार्यवाहकमा सरेको थियो । अहिले सभापतिको जिम्मेवारी पनि कार्यवाहकमै पुगेको छ । यससँगै रास्वपालाई कार्यवाहकले धान्नुपरेको छ । 

यो पनि पढ्नुहोस्

रास्वपा कार्यवाहक सभापतिमा अर्याल नै किन ?

 

प्रकाशित: ९ पुस २०८१ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App