आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्रलाई अति शंवेदनशील वर्गमा राखिएको छ।
जिल्ला सुरक्षा समिति जुम्लाका अनुसार कुल ८५ वटा मतदानस्थलमध्ये ५२ वटा अति संवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य रहेका छन्। यस्तै, जिल्लामा रहेका कुल १ सय १० वटा मतदान केन्द्रमध्ये ६४ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य रहेको सुरक्षा समितिले जनाएको छ।
भौगोलिक विकटता, सञ्चारको पहुँच अभाव, मतदान केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुँच, खानेपानी तथा बिजुली व्यवस्थालगायतका सुरक्षा चुनौतीलाई आधार मानेर मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख (डिएसपी) रबिनबाबु रेग्मीले जानकारी दिए। उनका अनुसार मतदान केन्द्र र मतदानस्थलमा देखिएका समस्या समाधानका लागि स्थानीय तहसँग आग्रह गरिरहेको अवस्था छ।
‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमनदेखि सुरक्षाकर्मीको परिचालन तथा तयारी तीव्र पारिएको छ,’ डिएसपी रेग्मीले भने, ‘मतदानस्थल शान्तिपूर्ण र भयरहित बनाउन भरपुर पहल भइरहेको छ।’
जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ जना छ। जसमध्ये महिला मतदाता ३४ हजार २ सय ८० जना र पुरुष मतदाता ३७ हजार ४ सय ५९ जना रहेका छन्। जुम्लाको हिमा गाउँपालिकामा कुल ६ हजार ६ सय ९५ मतदाता रहेका छन्। जसमध्ये ३ हजार ५ सय ९ पुरुष र ३ हजार १ सय ८६ महिला छन्।
यहाँ ११ वटा मतदान केन्द्र र ९ वटा मतदानस्थल रहेका छन्।सिंजा गाउँपालिकामा कुल ८ हजार ४ सय ७७ मतदाता छन्। जसमध्ये ४ हजार ५ सय ३८ पुरुष र ३ हजार ९ सय ३९ महिला मतदाता रहेका छन्। यहाँ १२ वटा मतदान केन्द्र र ७ वटा मतदानस्थल छन्।कनकासुन्दरी गाउँपालिकामा कुल मतदाता संख्या ९ हजार ४ सय ४१ रहेको छ। जसमा महिला ४ हजार ३ सय ७६ र पुरुष ५ हजार ६५ जना छन्। यहाँ १६ वटा मतदानस्थल र १७ वटा मतदान केन्द्र रहेका छन्।
गुठिचौर गाउँपालिकामा कुल ६ हजार ९ सय ४३ मतदाता रहेका छन्। जसमध्ये महिला ३ हजार ३ सय २७ र पुरुष ३ हजार ६ सय १६ जना छन्।
यहाँ ९ वटा मतदानस्थल र १० वटा मतदान केन्द्र छन्।एक मात्र चन्दननाथ नगरपालिकामा कुल मतदाता संख्या १२ हजार ९ सय ४१ जना छ। जसमध्ये महिला ६ हजार ५ सय ३६ र पुरुष ६ हजार ४ सय ५ जना छन्।
यहाँ १० वटा मतदानस्थल र १६ वटा मतदान केन्द्र रहेका छन्। तातोपानी गाउँपालिकामा कुल मतदाता संख्या ९ हजार ८ सय ३८ रहेको छ। जसमध्ये महिला ४ हजार ६ सय ७७ र पुरुष ५ हजार १ सय ५७ जना छन्। यहाँ ९ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र छन्। तिला गाउँपालिकामा कुल ८ हजार ४ सय ६६ मतदाता रहेका छन्। जसमध्ये महिला ३ हजार ९ सय ९४ र पुरुष ४ हजार ४ सय ७२ जना छन्। यहाँ १३ वटा मतदानस्थल र १५ वटा मतदान केन्द्र रहेका छन्।पातारासी गाउँपालिकामा कुल ८ हजार ९ सय ४२ मतदाता छन्। जसमध्ये महिला ४ हजार २ सय ४५ र पुरुष ४ हजार ६ सय ९७ जना रहेका छन्।
यहाँ १० वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र छन्।निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालले जानकारी दिए। उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन सबै पक्षलाई आग्रह गरिएको बताए।
‘मतदानस्थल र केन्द्रको नियमित अनुगमन भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, ‘जहाँ जे अभाव छ, जुन समस्या छ, त्यसको समाधानका लागि सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको छ।’
प्रकाशित: २० माघ २०८२ १७:४१ मंगलबार





