दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा धारिलो हतियार हँसिया प्रहारबाट चार जना महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाका दुवै हत्केला काटिएका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमा पुगेर घरका सदस्यहरूमाथि घरेलु हतियार हँसिया प्रहार गरी कुटपिट गरेका थिए।
घटनामा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बिमा मगर गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। त्यस्तै, चन्द्रबहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुनका दुवै हत्केला काटिएका छन्।
घाइते अन्य दुई जना २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ठाटीकाँधबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। हँसिया प्रहार गर्ने रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते चारै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ। घटनाको कारण भने खुल्न बाँकी छ।
प्रकाशित: २२ कार्तिक २०८३ ०९:५५ आइतबार





