सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ। रविसँगै गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीसहितविरुद्ध पनि मुद्दा दर्ता हुनेछ।
सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धमा सरकारी वकिलको कार्यालयले तत्कालिन अध्यक्ष गीतेन्द्रबहादुर राईसहित १९ जनाविरुद्ध भने शुक्रबार नै पूरक अभियोग पत्र दर्ता गरेको थियो ।
सोहीअनुसार सरकारी वकिल कार्यालयका अधिकारीहरूले अदालतमा रविविरुद्ध तयार मिसिल र प्रमाणहरू पेस गरेका छन् । वकिलको कार्यालयले पेस गरेका सबै मिसिल र प्रमाणहरू रुजु गरिएपछि मुद्दा दर्ता हुनेछ ।
उनीविरुद्ध विभिन्न तीन वटा अभियोगमा मुद्दा दर्ता हुन लागेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भएको सरकारी वकिल कार्यालयका एक अधिकारीले जानकारी दिए ।
मिसिल रुजु गर्न समय लाग्ने भएकोले साँझसम्म मुद्दा दर्ता हुनेछ ।
गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई विभिन्न सहकारीको रकम अपचलनसम्बन्धमा रुपन्देशी, चितवन, पर्सा र काठमाडौंमा समेत सोधपुछ गरिएको थियो । आइतबार भने कास्की अदालतमा मुद्दा दर्ता हुन लागेको हो ।
प्रकाशित: ७ पुस २०८१ १२:४७ आइतबार