उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासोन्मुख र न्यून विकसित देशहरूले स्पष्ट र विशेष आन्तरिक राजस्व नीति निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।
बैंककस्थित संयुक्त राष्ट्रसंघ सम्मेलन केन्द्रमा संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (यूएनएस्क्याप) द्वारा आयोजित ‘एसिया–प्रशान्तका लागि विकास वित्तीय परामर्श’ को उद्घाटन सत्रमा मन्तव्य दिँदै उपप्रधानमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्।
![](https://images.nagariknewscdn.com/2024/photos/1734431284_5ec0e8e4-9ade-4d8a-a2ef-6e762c9b0985.jpeg)
उनले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न अडिस अबाबा कार्यसूची कार्यान्वयनले पुर्याएको महत्वपूर्ण योगदानको चर्चा गर्दै विकासशील राष्ट्रहरूले सामना गरिरहेका बजेट योजना, स्रोत साधनको प्रभावकारी वितरण, परियोजना कार्यान्वयन क्षमता अभिवृद्धि र दिगो खर्च व्यवस्थापनका चुनौती समाधान गर्नुपर्ने उल्लेख गरे।
यस उच्चस्तरीय परामर्श बैठक डिसेम्बर १७ र १८ सम्म सञ्चालन हुनेछ। आगामी जुन २०२५ मा स्पेनको सेभिलमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय उच्चस्तरीय विकास वित्तीय सम्मेलनको तयारीस्वरूप यो बैठक आयोजना गरिएको हो।
प्रकाशित: २ पुस २०८१ १६:१९ मंगलबार