७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सहकारी पीडितको आन्दोलनमा रास्वपाको ऐक्यबद्धता, गैर दलीय पहिचानसहित सहभागिताको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले बुधवार काठमाडौंमा गर्न लागेको आन्दोलनमा आफ्नो ऐक्यबद्धता हुने जनाएको छ । सहकारी ठगी प्रकरणमै सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा सडकमा आन्दोलन गरिरहेको रास्वपाले सहकारी पीडितको आन्दोलनमा भने ऐक्यबद्धता जनाउने भन्दै विज्ञप्ति जारी गरेको हो । 

रास्वपाका कार्यबाहाक प्रवक्ता मनिष झाले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘मंसिर ५ गते सहकारी पीडितहरूको बचत रकम फिर्ता गराउने हेतुले गरिन लागेको काठमाडौं केन्द्रित आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ऐक्यबद्धता रहेको सम्पूर्ण पार्टी पङ्क्ति एवं शुभचिन्तकहरूमा जाहेर गर्दछौँ ।’ भनेका छन् । 

सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानुनको इमानदार कार्यान्वयन नहुनु, पटक पटक बचतकर्ताहरूलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको रास्वपाको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ । ‘मिति २०८० माघमा हाम्रो पार्टीले तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको सहकारी एवं लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय र योजना प्रतिवेदनमा पनि संस्थागत कुशासन, अपचलन गर्ने सहकारी सञ्चालकहरूको राजनीतिक संरक्षण लगायतका विषय प्रधानताका साथ उठाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आन्दोलनलाई ‘बचत रकम फिर्ता गराउने उद्देश्य साथ राखिएको अभियान’ भन्दै रास्वपाले ‘गैर दलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नेपाली नागरिकहरूमा हार्दिक आग्रह’ गरेको छ । 

प्रकाशित: ४ मंसिर २०८१ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App