२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्र मन्त्री चीन जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अगावै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन् । आफ्नै औपचारिक भ्रमण र प्रधानमन्त्री ओलीको भ्रमण तयारी स्वरूप परराष्ट्र मन्त्री चीन जान लागेको उनको निजी सचिवालयले जनाएको छ । 

‘प्रधानमन्त्रीको चीन भ्रमणको सिलसिलाको तयारी एवं आफ्नै चीन भ्रमणका क्रममा मन्त्री ज्यु चीन जाने विषयमा कुराकानी भइरहेको छ,’ परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले भने, ‘कुराकानीअनुसार नोभेम्बरको अन्तिम साता जाने भन्ने छ । तर मिति तय भने भइसकेको छैन ।’ परराष्ट्र मन्त्रालयले उनको भ्रमणका लागि आन्तरिक तयारी गरिरहेको पनि उनले बताए ।

प्रधानमन्त्री ओली मंसिरको तेस्रो साता चीनको राजकीय भ्रमणमा जाने कार्यक्रम यसअघि नै तय भइसकेको छ । त्यसका तयारीको संयोजन गर्ने जिम्मा परराष्ट्र मन्त्री राणालाई दिइएको छ । 

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित ८ सदस्यीय संयन्त्र पनि बनेको छ । 

यस्तोमा प्रधानमन्त्रीको भ्रमणको तयारीको संयोजन परराष्ट्र मन्त्री राणालाई जिम्मेवारी तोकिएपछि  तयारीका लागि चीनले औपचारिक रूपमा बोलाउन लागेको हो । यसअघि प्रधानमन्त्रीको भ्रमणअघि चीनले परराष्ट्र मन्त्रीलाई बोलाउने गरेको थिएन । 

प्रधानमन्त्रीको चीन भ्रमणका बेला चीनको महत्वाकांक्षी योजना बेल्ट इन रोड इनिसियटिभ(बिआरआई)को कार्यान्वयन सम्झौता हुने पनि चर्चा छ । जसको मोडालिटी ऋण वा अनुदान के भन्ने विषयमा कांग्रेस–एमाले बिच पूर्ण रूपमा सहमति जुटिसकेको छैन ।

प्रकाशित: २८ कार्तिक २०८१ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App