२६ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

कुवेतविरुद्ध नेपालको प्रभावशाली जित

पूजा महतोको अलराउण्ड प्रदर्शन

क्याप्टेन पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू-१९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध प्रभावशाली जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।

नेपालले दिएको २१४ रनको उच्च रनको लक्ष्य पछ्याएको कुवेत १३ ओाभरमा ४८ रनमा अलआउट भयो ।  कुवेतका लागि कप्तान जिफा जिलानीले ३६ रन बनाउन बाहेक अन्यले दोहारो अंकको स्कोर गर्न सकेनन् । कुवेतका आठ खेलाडी शुन्य रनमा आउट भए ।

कुवेतलाई सस्तैमा समेट्न क्याप्टेन पूजा महतोले ५ विकेट लिइन् । उनले चार ओभरमा मात्र  ८ रन खर्चेर ५ विकेट लिएकी हुन् । रचना चौधरी र सिमाना केसीको नाममा समान दुई विकेट रह्यो ।

यसअघि कप्तान पूजा महतोको कीर्तिमानी शतक बनाएपछि नेपालले निर्धारित ओभरमा २ विकेट गुमाएर २१३ रनको विशाल योगफल तयार पारेको थियो ।  

पूजाले कुल ६९ बलको सामना गर्दै १७ चौकाको मद्दतले नटआउट १३० रन जोडिन् । प्रतियोगिताको दोस्रो संस्करणसम्म आउँदा कुनै पनि खेलाडीले बनाएको यो नै पहिलो शतक हो । पूजालाई उत्कृष्ट सहयोग गर्ने क्रममा सोनी पाख्रीनले ३३ बलमा ४३ रन जोडिन् । उनीहरूबाहेक सावित्री धामीले ११ र साना प्रविनले ६ रनको योगदान दिइन् । 

योसँगै पूजा नेपाली महिला क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी बनेकी छन् । गत फेब्रवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् । 

म‌गलबारको जितसँगै नेपालले पाँच खेलबाट ८ अंक जोडेको छ । एक खेल कम खेलेको यूएईको पनि समान अंक छ र रनरेटका आधारमा शीर्ष स्थानमा कायम छ । नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली यूएईसँग खेल्नेछ । 

प्रकाशित: २७ कार्तिक २०८१ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App