६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न विश्व समुदाय एकजुट हुनुपर्छ’

मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताएका छन्।

बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्रमका टोली नेतासहितका अधिकारीहरूसँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशसहित देशले जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट भोगिरहेको भन्दै यसको समाधानका लागि बेलायतसहित विश्व समुदाय एक जुट हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री सिंहले नेपालको समग्र विकासमा बेलायती सरकारले गरेको सहयोगको सराहना गरेका थिए। उनले बेलायत सरकारले नेपाललाई निरन्तर र उपलब्धिमूलक सहयोग गरिरहेको बताउँदै पछिल्लो समय यहाँको आवश्यकता अनुसार सहयोग परियोजना सञ्चालन गरेकामा सो प्रयास प्रशंसनीय रहेको उल्लेख गरे।

मुख्यमन्त्री सिंहले देशले कम कार्बन उत्सर्जन गरे पनि त्यसबापत पाउनुपर्ने क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुुनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको चर्चा गरे।

उनले जलवायु परिवर्तनका कारण मधेस प्रदेशसहित मुलुकले बाढीपहिरो, खेतीयोग्य जग्गाको कटान, पटान र भसान, खानेपानी तथा सिँचाइको सङ्कट, हिमपहिरोलगायत समस्या भोगिरहेको उल्लेख गरे।

‘गर्मीयाममा सुक्खा हुन्छ। जाडोयाम जाने बेलामा कठ्याङ्ग्रिने चिसो हुन्छ। अहिले जाडो हुने समयमा पसिनाले निथ्रुक्क भिजाउँछ। यो सबै जलवायु परिवर्तनले निम्ताएको सङ्कट हो’, मुख्यमन्त्री सिंहले भने।

चुरे संरक्षणका लागि पुनर्जलीयकरण र जलपुनर्भरण गरी भूमिगत जलको सतह वृद्धि गर्ने, मधेस प्रदेशको पूर्वदेखि पश्चिमसम्म नदी जोड्ने योजनाबाट पानी व्यवस्थापन गर्ने, बगरलाई पुनःकृषि भूमिमा परिणत गर्ने, बाढी व्यवस्थापन गरी सिँचाइको उपलब्धता बढाउने योजनामा प्रदेश सरकारले काम गरिरहेको भन्दै ती योजनामा बेलायती सरकारसँग आवश्यक सहयोग गर्न आग्रह गरे।

मुख्यमन्त्री सिंहले प्रदेशको आवश्यकताअनुसार आफ्नो आग्रहमा बेलायत सरकारले फोहरमैला व्यवस्थापन, पर्यटन विकासलगायत परियाजनाबारे अध्ययन गरिरहेकामा सोको उच्च प्रशंसा गर्दै इनोभेसन सेन्टर, शिक्षकका लागि एड्भान्स तालिम केन्द्रलगायत क्षेत्रमा सहयोग गरिरहेको बताए। उनले भने, ‘ग्रीन ग्रोथ नेपाल बेलायत सरकारको नयाँ कार्यक्रम हो। सन् २०२४ देखि २०३१ सम्म सञ्चालन हुने यो कार्यक्रमले नेपालमा हरित, दिगो र समावेशी विकासलाई जोड दिनेछ।’

कार्यक्रमले स्थायी आर्थिक नीतिलाई मजबुत गर्दै हरित र जलवायुमैत्री आधारभूत संरचना, हरित उद्योग र सेवामा लगानी विस्तार गर्ने मुख्यमन्त्री सिंहले जानकारी दिए। यसले नेपालको विकासलाई रेखाङ्कीत गर्दै पर्यावरण र प्राकृतिक सम्पदाको संरक्षण गर्दैै समृद्धिमा मद्दत गर्नेछ। कार्यक्रमले हरित, जलवायुमैत्री र कम कार्बन उत्सर्जन हुने सहरीकरणलगायत पूर्वाधार विकासमा जोड दिने उनले बताए। रासस

प्रकाशित: २७ कार्तिक २०८१ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App