६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार सञ्चालन सफल बनाउन कांग्रेस र एमालेद्वारा राजनीतिक संयन्त्र गठन

संयन्त्रको नेतृत्व आलोपालो गर्ने

नेपाली कांग्रेस र नेकपा (एमाले)ले दुई दलीय राजनीतिक संयन्त्र गठन गरेका छन्। 

सरकारको कामलाई सफल र प्रभावकारी बनाउने उद्धेश्यसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयन्त्र गठन भएको हो । गत कार्तिक १५ गते बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्ने निर्णय गरेको थियो।  

संयन्त्रको कार्यदलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सदस्य छन्। एमालेको तर्फबाट भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन्।  

१५ गतेको बैठकले प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय गरेपनि यसलाई विस्तारै कार्यान्वयनमा लैजाने तयारी दुई दलको छ।  

कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने निर्णय गर्दै पहिलो महिना कार्तिक २१ देखि मंसिर २० गतेसम्म नेपाली कांग्रेसका उपसभापति खड्काले बैठकको संयोजन गर्ने भएका छन्। 

यस्तै प्रधानमन्त्री ओलीका चीन भ्रमणको तयारी र संयोजन परराष्ट्रमन्त्री राणा देउवाले गर्ने र भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने निर्णय पनि कार्यदलले गरेको छ। 

प्रकाशित: २१ कार्तिक २०८१ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App