६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनताको सुख–दुःखको साथी बन्न जनप्रतिनिधिलाई उपसभापति खड्काको निर्देशन

<br>

<br>

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनताको घरदैलोमा पुगेर सुख–दुःखको साथी बन्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्।

उनले घरदैलोमा जाँदा जनताका पिरमर्का र सुख–दुःख थाहा हुने बताउँदै सोही अनुसार समाधानको उपायको खोजी गर्न पनि निर्देशन दिए।

‘तपाईंहरु राजधानीमा बस्ने बानी हटाउनुहोस्,’ नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘प्रदेशसभा र समितिका बैठकहरुबाहेकको समय आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा गएर जनताका पीरमर्का बुझ्नुहोस् र सोही अनुसार समाधानमा लाग्नुहोस्।’

उपसभापति खड्काले पार्टीबाट मन्त्री बनेका, सांसद् र नेताहरुलाई जिल्लामा जाँदा सम्बन्धित जिल्लाका सभापति र पदाधिकारीहरुसँग समन्वय गर्न पनि निर्देशन दिए।

‘मन्त्री मन्त्रालयकै काममा जाँदा पनि सम्बन्धित जिल्लाका सभापति र पदाधिकारीलाई जानकारी गराउनैपर्छ, सांसद् र माथिल्लो तहका नेताहरुले पनि यसलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘अहिले आफ्नै जिल्लामा आउने मन्त्री, सांसद र नेताहरुका बारेमा पनि सम्बन्धीत जिल्लाका सभापति र पदाधिकारीहरुले जानकारी नपाउने अवस्था छ, त्यसको अन्त्य कर्णालीबाट गर्नुहोस्।’

उपसभापति खड्काले नयाँ सदस्यता वितरण र नवीकरणका लागि दुई वर्षअघिनै केन्द्रले परिपत्र जारी गरेपनि केही जिल्लामा बाहेक अधिकांशमा त्यो कार्यान्वयनमा नआएको बताए।

‘अहिले नयाँ सदस्यता लिनका लागि निश्चित समय तोकिएको छैन्, दिनदिनै वितरण गर्न सकिने व्यवस्था मिलाइएको छ,’ उपसभापति खड्काले भने, ‘सदस्यता वितरणलाई तिव्रताका साथ अघि बढाउनुहोस्।’

उपसभापति खड्काले पार्टीका भातृ संस्था, शुभेच्छुक संस्था र विभागहरु गठन गर्दा सम्बन्धित जिल्ला सभापति र प्रदेश कार्यसमितिको सिफारिस अनिवार्य गरिएकाले विगतमा राजधानीमा बसेर नेता बन्ने अवस्था अहिले कांग्रेस पार्टीमा नरहेको जनाए।

‘पहिले–पहिले भ्रातृ संस्था, शुभेच्छुक संस्था र विभागहरुमा को–को मनोनित भए भन्ने कुरा समाचारमा र सामाजिक सञ्जाल हेरेपछि मात्रै थाहा हुने अवस्था थियो,’ उनले भने, ‘अहिले त्यो अवस्थाको अन्त्य भएको छ, जिल्ला र प्रदेश कार्यसमितिको सिफारिस र जानकारीविना अहिले कोही पनि सदस्य मनोनित हुन सक्ने अवस्था छैन्, अब राजधानीमा बसेर नेता बन्ने अवस्था कांग्रेसमा छैन्।’

उपसभापति खड्काले चैत मसान्तभित्र पार्टीका भातृ संस्थाको नेतृत्व चयन भइसक्ने बताए। ‘भातृ संस्थाहरुको निर्वाचन गराउनकै लागि निर्देशक समिति बनाइएका छन्,’ उनले भने, ‘चैतभित्रमा सबै भातृ संस्थाहरुले नयाँ नेतृत्व पाउँछन्।’

पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले संघीय सरकार र प्रदेश सरकारमा पार्टीकातर्फबाट मन्त्री बनेकाहरुलाई जनताको मन छुने गरेर काम गर्न निर्देशन दिए।

‘जनताका आवश्यकतालाई सम्बोधन गर्ने गरेर काम गर्नुहोस्, मन्त्री आफ्नो निर्वाचन क्षेत्र र आफ्नो जिल्लामा मात्रै सीमित हुनु हुँदैन्,’ उनले भने, ‘यसअघि सरकारमा रहेका पार्टीका सांसदहरुले गरेका राम्रा कामहरुको अनुसरण गर्दै जनतासँग प्रत्यक्ष जोडिने गरेर काम गर्न सक्नुभयो भने मात्रै तपाईंहरु सरकारमा रहेको अर्थ रहन्छ।’

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरु, संघीय सांसद, प्रदेश सांसद, १० वटै जिल्लाका सभापति र प्रदेश कार्यसमितिका पदाधिकारीहरुसहित भएको विशेष अन्तरक्रिया तथा प्रबोधन कार्यक्रमलाई अब जिल्ला हुँदै वडा तहसम्म पुर्‍याउन निर्देशन दिए।

‘पहिलो पटक यस्तोखाले कार्यक्रमको सुरुवात कर्णालीबाट भएको छ, यो निकै प्रभावकारी छ,’ उनले भने, ‘यसलाई अव जिल्ला हुँदै वडातहसम्म पुर्‍याउने गरेर कार्ययोजना बनाउनुहोस्।’

उपसभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले प्रदेश कार्यसमितिलाई थप अधिकार प्रत्यायोजन गरेको बताउँदै सोही अनुसार प्रदेशले छुट्टै कार्यक्रमहरु तय गरेर आम जनता र मतदाताको बीचमा जान पनि निर्देशन दिए।

कार्यक्रममा संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, कर्णाली प्रदेशबाट प्रतिनिधिधत्व गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश मन्त्रीहरु र जिल्ला सभापतिहरुले आ–आफ्नो भूमिका र गरिरहेका कामका बारेमा जानकारी गराएका थिए।

उनीहरुले स्थानीय तहमा निर्वाचित भइसकेपछि जनप्रतिनिधिहरुले पार्टीलाई भूल्ने गरेको गुनासो सुनाएका थिए।

प्रकाशित: ६ कार्तिक २०८१ १८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App