३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्ततः रवि लामिछाने पक्राउ

सहकारी ठगी, संगठित अपराध, किर्तेसहित चार मुद्दाको तयारी

सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी मुख्यालय वनस्थली काठमाडौंबाट शुक्रबार साँझ नियन्त्रणमा लिँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली। टोलीले रास्वपा नेता–कार्यकर्ताका बीच

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधसहित चारवटा आरोपमा अनुसन्धान हुने भएको छ। सिआइबी र उपत्यका प्रहरी अनुसन्धान कार्यालयले कास्की प्रहरीको आग्रहमा लामिछानेलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ। प्रहरीले उनलाई ३४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ। सहकारी ठगीको आरोप लागेका लामिछानेका तत्कालीन व्यापारिक साझोदार एवं पूर्वडिआइजी छविलाल जोशीलाई भने प्रहरीले असोज ६ गते नै पक्राउ गरेको थियो। उनीमाथि हाल पोखरा प्रहरीले अनुसन्धान गरिरहेको छ। सहकारी ठगी सम्बन्धमा छानबिन गर्न सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित संसदीय विशेष समितिले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध चारवटा आरोपमा अनुसन्धान गर्न सकिनेछ।

लामिछानेलाई उनको पार्टी मुख्यालय काठमाडौं बनस्थलीबाट सिआइबीको टोलीले पक्राउ गरी कास्कीतर्फ लगेको छ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार नै प्रहरीलाई अनुमति दिएको थियो। अदालतको अनुमति पाएपछि सिआइबीले साँझ उनलाई पक्राउ गरेको हो।

 सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

राई, जोशी र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख रूपैयाँ अवैध तरिकाले लगेको संसदीय छानबिनबाट खुलेको छ। सहकारीबाट रकम लैजाँदा र खर्च गर्दा लामिछाने गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए। गोर्खा मिडियामा सहकारीबाट अवैध तरिकाले लगिएको रकम लामिछानेले खर्च गरेका हुन्।

असोज ६ गते पक्राउ परेपछि जोशीले सहकारीको रकम ल्याएर अपचलन गर्ने र मिडिया खोल्न उक्साउने लामिछाने भएको बताएका थिए। लामिछानेलाई नसमातीकन आफूलाई मात्र पक्राउ गरेको भन्दै जोशीले प्रहरीसमक्ष गुनासो गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा सिआइबी, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गर्दा त्यहाँ जम्मा भएका उनका कार्यकर्ता र समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए।

लामिछानेले पक्राउ पर्दै गर्दा करिब तीन मिनेट कार्यकर्तालाई सम्बोधन गरेका थिए। उनले सुनियोजित रूपमा आफूलाई पक्राउ गरिएको भन्दै भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए। उनले पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै भनेका थिए, ‘जुन हातले यो हस्ताक्षर गरेको छु, त्यही हातले सयौं भ्रष्टाचारीलाई कठघरामा पु¥याउनेछु।

यसअघि असोज पहिलो साता प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको भन्दै लामिछानेले नेता–कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएर प्रतिरोध गर्न भनेका थिए। उनले आफूले सरकार बचाउन कुनै सम्झौता नगरेका कारण पक्राउ गर्न खोजिएको भन्दै कार्यकर्ता र समर्थकमाझ भ्रम छरेका थिए।

उनले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिशोध साँध्न फसाउन खोजिएको भन्दै समर्थकहरूको मन जित्ने कोसिस गरेका थिए। उनले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आक्रमक टिप्पणी गरेका थिए।

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !!’, उनको आक्रोशपूर्ण प्रतिक्रिया थियो, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ  हतकडी?’ उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको हो। जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेसहितलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान लामिछानेसहितलाई पक्राउ गरी पठाइदिन भन्दै सिआइबीलाई पत्र लेखेको थियो।

पत्रमा काठमाडौं–६ निवासी लालचन्द्र लामिछानेका छोरा रवि लामिछानेलाई पक्राउ गरी कास्की प्रहरी कार्यालयमा पठाइदिन अनुरोध गरिएको थियो। यसअघि पक्राउ परेका जोशीलाई शुक्रबार अदालतमा उपस्थित गराई अनुसन्धानका लागि थप २० दिनको म्याद लिइएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध २०८० माघ २२ गते कास्की जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा कास्की प्रहरीले लामिछानेसँग गत भदौमा बयान लिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले लामिछाने, रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी जोशीसँग ठाडो बयान लिएको थियो।

सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले भदौ ७ मा लामिछानेसँग बयान लिएको थियो। उनले करिब १० घण्टा लगाएर बयान दिएका थिए । बयान दिएको अर्को दिन लामिछाने चितवन गएका थिए। त्यस्तै भदौ ८ र ९ मा कास्की प्रहरीले गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट इन्टरनेसनल र नेचर हब्र्सको कार्यालयमा छापा मारेको थियो।

सूर्यदर्शन सहकारीको रकम ठगी गरेको आरोपमा बचतकर्ताले लामिछानेविरुद्ध २०८० माघ २२ मा पूरक जाहेरी दिए पनि उनी सरकारमा हुँदासम्म प्रहरीले अनुसन्धान अघि बढाउन सकेको थिएन। सिआइबीले कागजात झिकाएर अनुसन्धान गरिरहेका बेला गृहमन्त्री भएका लामिछानेले सिआइबी प्रमुख किरण बज्राचार्य र सहकारी ठगी अनुसन्धानमा खटिएको टोलीलाई नै सरुवा गरिदिएका थिए।

गोर्खा मिडिया नेटवर्कमा राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेका बखत सूर्यदर्शन सहकारीबाट मात्रै पाँच करोड ५८ लाख ९ हजार रूपैयाँ प्रवाह भएको तथ्य प्रहरीले प्रारम्भिक अनुसन्धानमा फेला पारेको थियो। सिआइबीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको हकमा चेकमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५० लाख र नगदै लिएको ५० लाखसमेत गरी एक करोड रूपैयाँको वार्षिक ब्याजदर १४.७५ का दरले ऋण लिएको उल्लेख छ।

सोही प्रतिवेदनमा लामिछानेले ऋण, ब्याज तथा सेवा शुल्कसमेत गरी १ करोड ३० लाख ८८ हजार ७ सय ३६ रूपैयाँ १६ पैसा गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा स्वामित्व हस्तान्तरण गरेको देखिएको उल्लेख छ। यो विषयमा सिआइबीले थप अनुसन्धान गरिरहेका बेला लामिछाने गृहमन्त्री भएका थिए।

बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७८ असार २२ मा कुमार रम्तेलको नाममा एक करोड ९० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकमा भएको खातामा एक करोड तीन लाख ३६ हजार जम्मा गरी बाँकी रकम लामिछानेको खातामा ऋण फस्र्योट देखाएर कुमार रम्तेलकै नाममा ऋण कायम गरेको छानबिनबाट पाइएको छ।

 यसैगरी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट भूपेन्द्रबाबु राईका नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा सिद्धार्थ बैंकमा भएको खातामा २०७७ असोज ११ मा एक करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आइएमई बैंकमा भएको खातामा २०७८ वैशाख ५ मा एक करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८ असार ४ मा एक करोड गरी तीन करोड ३० लाख रूपैयाँ जम्मा भएको छानबिनबाट पाइएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ माघ २९ गते जोशीका नाममा दुई करोड ५० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा दुई करोड ४५ लाख रूपैयाँ जम्मा भएको पनि पाइएको छ। यस विषयमा संसदीय विशेष समितिले प्रश्न गर्दा लामिछानेले यस्तो काममा आफू संलग्न नभएको दाबी गर्दै जिबी राईलाई थाहा होला भनेका थिए।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र २०७८ असार ९ मा पनि ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा प्रवाह भएको देखिएको छ।

त्यतिबेला पनि लामिछाने गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए। २०७८ असार ३१ मा लामिछानेकै नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं. ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको पाइएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा लामिछानेका नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण एक करोड रूपैयाँको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४ लाख ७५ हजार र दोस्रो वर्षको ब्याज १६ लाख १३ हजार ७३० समेत गरी एक करोड ३० लाख ८९ हजार रूपैयाँ २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी ऋण कायम गरिएको थियो।

२०७८ असार ३१ मा सुप्रिम सहकारीबाट पुलेसो कर्जामार्फत लामिछानेका नाममा एक करोड रकम निकासा गरिएको पाइएको छ। यी सबै विवरणमा आफ्नो संलग्नता नरहेको दाबी लामिछानेले संसदीय विशेष समितिसँग गरेका थिए। रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्कमा तत्कालीन समयमा क्रिएटिभ डाइरेक्टर थिए। उनका नाममा पनि २०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट एक करोड रूपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ। ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक एवं पूर्वडिआइजी छविलाल जोशी अहिले प्रहरी हिरासतमा छन्। जोशी पनि ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता अर्थात् जिबीका साझेदार थिए। पछि उनी गोर्खा मिडियाबाट बाहिरिएका थिए।

हारगुहार सुनुवाइ भएन

सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका लामिछानेले प्रधानमन्त्री ओलीलाई भेट गरेर आफ्नो कुनै गल्ती नभएको बताएका थिए। तर प्रधानमन्त्री ओलीले त्यतिबेला छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै केही भन्न सकिने जबाफ दिएका थिए।

सहकारीको रकम ठगी गरेको आरोप लागेका लामिछानेले भदौ ७ गते संसदीय विशेष समितिमा पुगेर करिब १० घण्टा बयान दिएका थिए। त्यसको तीन दिनपछि कास्की प्रहरीले काठमाडौंमै आएर लामिछानेसँग बयान लिएको थियो। समिति र प्रहरी दुवैमा बयान दिएपछि पूर्ववर्ती सरकारमा उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले ओली र देउवालाई भेटेर आफ्ना कुरा राखेको थिए।

कास्की प्रहरीले बयान लिनुअघि लामिछानेले चितवन पुगेर सरकारप्रति ठुलै आक्रोश पोखेका थिए। प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको कार्यालयमा खानतलासी गरी लामिछानेलाई बयानका लागि फोन गरेपछि उनले आफूलाई थुनेर देखाउन चुनौती दिएका थिए।

‘सक्छौं तिमीहरूले मलाई थुन, हतकडी लगाऊ, सकेनौं भने म तिमीहरूलाई छाड्नेछैन, अल भर्सेस वान, सबै भर्सेस रास्वपा,’ संसदीय विशेष छानबिन समितिमा बयान दिएर चितवन पुगेका लामिछानेले भनेका थिए। चितवनबाट फर्केर काठमाडौं आएपछि कास्की प्रहरीले भदौ १० गते लामिछानेसँग बयान लिएको थियो। उनले प्रहरीलाई मौखिक बयान दिएका थिए।

दाहालले दिए लामिछानेलाई पक्राउ पर्ने सूचना

रास्वपा सभापति लामिछानेलाई पक्राउ पर्ने सूचना पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएका थिए। बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको तीन दलको बैठकमा लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए। त्यो सूचना दाहालले लामिछानेलाई दिएका हुन्।

टिआरसीका विषयमा छलफल गर्न ओलीले बोलाएको बैठकमा दाहालले लामिछानेलाई पक्राउ गर्ने विषयमा सरकारको धारणा मागेका थिए। बैठकमा गृहमन्त्री रमेश लेखक र महान्यायाधिवक्ता रमेश बडाल पनि उपस्थित थिए।

सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) बारे औपचारिक छलफलपछि दाहालले प्रधानमन्त्रीसँग सहकारी ठगीका विषयमा गठित संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनबारे प्रश्न उठाउँदै लामिछानेलाई पक्राउ गर्नेबारे सरकारको धारणा के हो भनेर सोधेका थिए। त्यसक्रममा प्रधानमन्त्री ओलीले सहकारी ठगीसम्बन्धी छानबिन समिति बनाउने आफ्नो रुचि नभएको र छानबिन समिति बनाउने तपाईं भएको भन्दै दाहाललाई समितिले उठाएको विषयमा कानुनी कारबाहीको बाटो अवलम्बन गरिने जवाफ दिएका थिए।

‘तपाईं प्रधानमन्त्री हुँदा नै छानबिन समिति बनाउनुभएको हो। मैले त संसदीय छानबिन समिति भनेको नीतिगत विषयमा गठन गर्ने हो। व्यक्तिलाई लक्षित गरेर बनाउनुहुँदैन भनेर अडान लिएको थिए। तपाईं नै मान्नुभएन। आफैंले अघि सरेर समिति बनाउनुभएको हो। रविजी पनि तयार हुनुभयो। कांग्रेसले त मागेकै थियो। अल्पमतमा परेपछि म चुप लागें। अब समितिले प्रतिवेदन दिएको छ।

सरकारले कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ,’ प्रधानमन्त्रीले दाहाललाई जवाफ दिएका थिए। त्यसपछि शुक्रबार बिहान विपक्षी पार्टीहरूको बैठक बोलाएर दाहालले रवि पक्राउ पर्ने सूचना दिएका थिए। दाहालको सूचनापछि लामिछानेले कार्यकर्तालाई शुक्रबार दिनभर अलर्टमा राखेका थिए।

स्वर्णलक्ष्मीको अनुसन्धान गर्दा एसएसपीको सरुवा

लामिछानेले काठमाडौंमा रहेको स्वर्णलक्ष्मी सहकारीबाट पनि ऋण लिएको भौचरहरू सार्वजनिक भएपछि काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख एसएसपी भूपेन्द्र खत्रीले अनुसन्धान सुरु गरेका थिए। यो सहकारीबाट पनि राई र लामिछानेले रकम झिकेको भौचरहरू सार्वजनिक भएका थिए।

सहकारी संस्थाबाट चारपांग्रे सवारी कर्जाका रूपमा रवि र जिबीले झन्डै एक करोड रकम निकालेको दाबीसहित बिनाहस्ताक्षर तथा बिनाछापका भौचर बाहिरिएका थिए।

२०७८ सालमा दुई पटक गरेर लामिछाने र राईले रकम निकालेको दाबीसहितका भौचरहरू बाहिरिएपछि काठमाडौं परिसरको टिमले अनुसन्धान सुरु गरेको थियो। त्यसको जानकारी पाएका लामिछानेले आफू गृहमन्त्री भएको केही दिनमै एसएसपी खत्रीलाई हटाएका थिए।

लामिछाने र राईका नाममा २०७८ वैशाख ९ गते ४६ लाख ४८ हजार रूपैयाँ पहिलोपटक उक्त सहकारीबाट रकम बिनाहस्ताक्षर र बिनाछापको भौचर बाहिरिएको थियो। यो ऋण उनीहरूले ‘स्वर्णलक्ष्मी चार पांग्रे कर्जा’ शीर्षकमा लिएको दाबी गरिएको छ।

भौचरमा गोर्खा मिडिया प्रालिलाई उक्त रकम दिइएको दाबी गरिएको छ। भौचरमा लामिछाने, राई र गोर्खा मिडियाका लागि ऋण दिइएको उल्लेख भए पनि बुझिलिनेको भने हस्ताक्षर छैन। राई/लामिछाने दुवैलाई भौचरमा ऋणी भनेर लेखिएको छ। राई/लामिछानेले दोस्रोपटक उक्त सहकारीबाट चार पांग्रे सवारी शीर्षकमै २०७८ साउन ५ गते ४६ लाख ९८ हजार रूपैयाँ ऋण लिएको अर्को भौचर बाहिरिएको थियो। ती भौचरमा पनि रकम बुझिलिने राई/लामिछानेको हस्ताक्षर भने थिएन। यही विषयमा काठमाडौं परिसरले अनुसन्धान सुरु गरेको थियो।

(पोखराबाट सन्देश श्रेष्ठको सहयोगमा)

प्रकाशित: ३ कार्तिक २०८१ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App