३० आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरीकाे तयारी

पक्राउ परेकाे छविलाल जोशीलाई पोखरा लगियो

सरकारले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरेको छ। विभिन्न सहकारी संस्थाको रकम हिनामिना विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारको निर्देशनमा प्रहरीले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अनुसन्धानका लागि पक्राउ तयारी गरेको हो।

प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको सूचना दिएपछि लामिछानेले पार्टीका नेतासँग छलफल गरेका छन्। प्रहरीले आइतबार साँझ रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा रहेका लामिछानेलाई पक्राउ गर्ने सूचना दिएको थियो। सूचना पाएपछि उनले पार्टीका नेताहरूसँग आवश्यक निर्णय लिन र परिआएमा प्रतिवाद गर्न छलफल गरेका हुन्। प्रहरीले लामिछानेको निवास र रास्वपा पार्टी कार्यालय दुवै ठाउँमा निगरानी बढाएको छ।

काठमाडौंमा रहेका लामिछानेलाई कास्की प्रहरीको आग्रहमा पक्राउ तयारी गरिएको हो। ‘कास्की प्रहरीमा सहकारीपीडितले रवि लामिछानेविरुद्ध जाहेरी दिनुभएको छ। त्यसकै आधारमा उहाँलाई पक्राउ तयारी गरिएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। लामिछानेमाथि सहकारीको रकम ठगी गरेको, कागजात किर्ते गरेको, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा कम्पनी रजिष्ट्रारको कार्यालयलाई छल गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

प्रहरीले लामिछानेलाई पक्राउ तयारीको सूचना दिनुपूर्व उनका तत्कालीन व्यापारिक साझेदार नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पनि सहकारीको रकम अपचलन आरोपमा नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले लामिछानेलाई पक्राउ गर्ने खबर दिएको थियो।

प्रहरीले सूचना दिएपछि लामिछानेको निर्देशनमा रास्वपाले काठमाडौंमा रहेका नेता–कार्यकर्तालाई पार्टी कार्यालयमा डाकेको थियो। पार्टीका नेता–कार्यकर्तालाई अगाडि राखेर पक्राउ दिने कि प्रतिवाद गर्ने भन्ने विषयमा लामिछानेले नेताहरूसँग छलफल गरिरहेका  छन्। ‘नेता–कार्यकर्तालाई सम्बोधन गरेर मात्रै गिरफ्तारी दिने सोचमा सभापति हुनुहुन्छ’, रास्वपाका एक नेताले भने।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशी पक्राउ परेपछि लामिछानेले आफू पनि पक्राउ पर्न सक्ने भन्दै रास्वपाका नेताहरूलाई पार्टी कार्यालयमा बोलाएका थिए। कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शंखमूलबाट पक्राउ गरी कास्की पठाएको छ। उनलाई कास्की प्रहरीले आइतबार साँझै हिरासतमा लिएको छ।

सहकारीबाट ६५ करोड ५४ लाख रूपैयाँ गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरिएको छ। संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारीबाट लिएको रकम दुरूपयोगमा लामिछानेलाई कारबाही सिफारिस गरिएको छ।

सांसद सूर्य थापाको नेतृत्वमा बनेको छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका नाममा ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ०४०१०१००००५७७ मा नाममा सहकारीको रकम लगिएको खुलासा गरेको थियो।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, सञ्चालक रवि लामिछाने र छविलाल जोशीको नाम, ठेगाना, तीनपुस्ते, फोटो, औंठाछाप र हस्ताक्षरसहित बैंका खाता खोलिएको कुरा पनि सांसद थापा नेतृत्वको समितिले बाहिर ल्याएको थियो।

उक्त खाता गोर्खा मिडियाका कार्यकारी अध्यक्ष राई, सञ्चालक लामिछाने र जोशीमध्ये एकजनाको हस्ताक्षरसहित कम्पनीको छापमा सञ्चालन हुने व्यवस्था गरिएकोमा लामिछानेले मात्रै करोडौं रूपैयाँको चेक काटेर अपचलन गरेको देखिएको थियो।

गृहमन्त्री रमेश लेखकले सहकारी संस्थाको रकमा दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएलगत्तै गोरखा मिडिया नेटवर्कका सञ्चालकमध्येका जोशी पक्राउ परेका हुन्। गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाएर तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

मन्त्रिपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो। सोहीअनुरूप गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कदम चाल्न निर्देशन दिएका थिए। जोशीलाई पक्राउ गरेपछि प्रहरीले लामिछानेलाई पनि पक्राउ गर्ने सूचना दिएको थियो।

‘सूर्यदर्शन, सुप्रिम, सहारा, स्वर्णलक्ष्मी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रूपैयाँ गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको देखिन्छ। जसमध्ये २२ करोड ४६ लाख ३० हजार रूपैयाँ सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ रूपैयाँ अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ,’ प्रतिवेदनमा लेखिएको छ। थापा नेतृत्वको प्रतिवेदन सार्वजनिक भएपछि रास्वपाले सभापति लामिछानेबारे कुनै पनि धारणा सार्वजनिक गरेको छैन।

छानबिन प्रतिवेदनमा सहकारीकै रकम नै गोर्खा मिडिया नेटवर्क खोल्ने आधार बनेको उल्लेख छ। ‘सञ्चालकद्वय लामिछाने र जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोरखा मिडियाका सञ्चालक जोशीसहित कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुनेगरी अनुसन्धान गर्न सिफारिस गरिएको छ। प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरणमा सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।

पोखराको सूर्यदर्शन, चितवनको साहरा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा लगानी गरिएको थियो। सो रकम सहकारीमा फर्केको छैन। सहकारीको रकम कम्पनीमा ल्याउन झुटा कागजपत्र बनाएर कम्पनीको सेयर लेनदेन गरिएको थियो।  

लामिछाने र उनी संलग्न रहेको कम्पनीले राजस्व छली गर्नेदेखि सहकारीको रकम ससुरालीको कम्पनीलाई अनधिकृतरूपमा भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। छानबिन समितिको प्रतिवेदनमा गोर्खा मिडियाको शेयर खरिदबिक्रीमा लामिछानेले राजस्वसमेत छली गरेको र ससुरा उद्धव पौडेलको नाममा रहेको गोपिकृष्ण मुभिजलाई पेस्की रकम दिएको उल्लेख छ।

‘देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको भनाइ समेतबाट देखिन्छ। त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासनविपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा समेत छली भएको देखिन आयो,’ प्रतिवेदनमा लेखिएको छ।

गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिका नामा ८१ लाख २५ हजार रूपैयाँ पेस्की गएको प्रतिवेदनमा उल्लेख छ ।

रास्वपाले प्रतिवाद गर्ने

प्रहरीले रवि लामिछानेविरुद्धको पूरक उजुरीबारे अनुसन्धान थालेको छ। पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका थिए।

लामिछाने गृहमन्त्री हुँदासम्म तामेलीमा रहेको सो उजुरीमा प्रहरीले अहिले अनुसन्धान थालेको हो। उजुरीका आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ।

उक्त सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहरपछि उनीविरुद्धको उजुरीमा छानबिन अघि बढाइएको हो।

समितिको सिफारिसअनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोगमा छानबिन थालेको हो। प्रहरीले लामिछानेलाई पक्राउ गर्ने जनाउ दिएपछि रास्वपाले प्रतिवाद गर्ने भएको छ। त्यसैगरी रास्वपाले देशभरका कार्यकर्तालाई प्रतिवाद गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: ७ आश्विन २०८१ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App