४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई तिहाईको वर्तमान सरकार अस्थिर : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)सहितको वर्तमान सरकार अस्थिर रहेको दाबी गरेका छन् ।  

संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले काठमाडौंमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा संसदीय दलका नेतासमेत रहेका लामिछानेले दुईतिहाईको वर्तमान सरकार २०८४ सम्मै कायम रहनेमा शंका व्यक्त गरे । उनले भने, 'दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ। किनकि, कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ। अनि भन्न चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने? '

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई महिना पूरा हुँदासमेत नीति तथा कार्यक्रम नआउनु आश्चर्यजनक रहेको चर्चा गर्दै लामिछानेले विगतमा पनि प्राथमिकता नमिल्दा जनतामा निराश छाउने गरेको बताए । उनको प्रश्न थियो, 'हाम्रो चिन्ता यो सिलसिला कहिलेसम्म जान्छ भन्ने हो ?' 

राजनीतिक दलहरु ठीक नभएसम्म मुलुकको रुपान्तरण ठीक दिशामा अगाडि नबढ्ने भएकाले स्वार्थ नराखी संसदमा योग्य प्रतिनिधि पठाउन आवश्यक रहेको उनको भनाइ थियो । सुधारको सुरुवात दलबाटै हुनुपर्ने भएकाले रास्वपाले संसदमा योग्य व्यक्ति पठाएको उनको दाबी थियो ।

उनले भने, 'नेपालमा निर्वाचन प्रणाली निकै महंगो छ। यो निर्वाचन प्रणालीबाट १०÷२० जना इमान्दार व्यक्ति संसदमा आउलान्। अरु स्वार्थ केन्द्रित मात्रै आउँछन्। इमान्दारको संख्या स्वतः कम हुन्छ, त्यो संख्या विधि र थिति बनाउन पर्याप्त हुँदैन। त्यसैले दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ।'

कांग्रेस र एमालेले संविधान संशोधनको एजेण्डा अघि सारेको चर्चा गर्दै सभापति लामिछानेले संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदबाहेकलाई मन्त्रिपरिषद् सदस्य बनाउने व्यवस्था, संसदलाई विधायकी कामको मात्र जिम्मेवारी, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, गैरदलीय समावेशी ‘विद्वत सभा’लगायत व्यवस्थामा जान सुझाव दिए । 

उनले भने, 'यसका लागि रास्वपा तयार छ। संविधानको संशोधनको दुहाई दिएर सत्ताको आयु लम्ब्याउन खोजिएको हो कि भन्ने आशंका हामीलाई छ।'

प्रकाशित: ३ आश्विन २०८१ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App