४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजदेखि, यस्ता छन् दुईदिने कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषदको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ। आज र भोलि काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछ।

राष्ट्रिय भेलाको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ। एद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिने छ।

आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ। आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ।

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव सोमवार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ। राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १ आश्विन २०८१ १०:०९ मंगलबार

#RSP #rastriya swatantra party #Rabi Lamichhane