२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बलियो राष्ट्रिय शक्ति बनाउने उद्धेश्यसहित एमालेको वार्षिक कार्ययोजना तयार

वार्षिक कार्ययोजनाभित्र १८ विषय समावेश

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

नेकपा (एमाले)ले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सार्थक बनाउने उद्धेश्यसहित वार्षिक कार्ययोजना तयार पारेको छ ।  शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको वार्षिक कार्ययोजना बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै पोखरेलले जनसंगठन परिचालन गरी जनतासँग जोडिने कुरालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए । बैठकले निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको उनको भनाइ छ ।  

वार्षिक कार्ययोजनाभित्र एमालेले १८ वटा विषय समावेश गरेको छ । 'पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरणको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ । नियमित रूपमा अधिवेशनको आयोजना र व्यवस्थापनको काम खास गरी केही जिल्लामा अधिवेशन बाँकी छ । त्यसलाई कार्तिक मसान्तभित्र सम्पन्न गर्ने योजना बनाएका छौं । सबै तहका अधिवेशन मङ्सिर मसान्तभित्र सक्ने योजना बनाइएको छ', पोखरेलले भने ।

एमालेले पार्टी प्रवेश गरेका र विभिन्न अधिवेशनबाट बिदा भएकाहरूलाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिने योजना बनाएको छ । पार्टी कमिटी र कार्यकर्ताको कामको विधि स्थापित गर्ने योजना पनि बैठकले बनाएको छ ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

पार्टीको स्कुल सञ्चालनलाई अभियानको रूपमा सञ्चालन गर्ने, प्रत्येक वर्ष पार्टीका प्रत्येक सदस्य पार्टीको कुनै न कुनै तहको स्कुलमा सामेल भएर स्कुलिङमा भाग लिनुपर्ने,  उनीहरूबाट नेतृत्व निर्माण गर्ने अवधारणा एमालेले अघि सारेको छ ।  

सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषयमा पनि विभिन्न निर्णय गर्दै बैठकले सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र जनप्रतिनिधिको भूमिका वृद्धि गर्ने कुरामा कार्ययोजना केन्द्रित गरेको छ ।  

पार्टी र जनताबीचको सम्बन्धलाई जीवन्त बनाउन केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयलाई व्यवस्थित गर्ने र परम्परागत प्रचारको ढाँचालाई परिवर्तन गरी सामाजिक सञ्जालमार्फत प्रचारको कामलाई अघि बढाउने निर्णय बैठकको छ ।  

महासचिव पोखरेलका अनुसार, कामका नयाँ क्षेत्र पहिचान गरी जिम्मेवारी प्राप्त गर्न नसकेका नेताहरूलाई नयाँ क्षेत्रको जिम्मेवारी दिने र पार्टीका हरेक कमिटीले वार्षिक बजेट तयारी गरी आम्दानी र खर्चको हिसाबकिताब राख्नुपर्ने निर्णय पनि भएको छ ।  

पार्टी शुद्धीकरण र सुदृढीकरणको विषय पनि पार्टीको वार्षिक कार्ययोजनामा रहेको छ । पार्टीभित्रको जीवनशैली, आचरण र आर्थिक अनुशासनको कामलाई व्यवस्थित बनाउने विषय पनि कार्ययोजनामा समावेश छन् ।

त्यसैगरी पार्टीलाई कसरी बलियो राष्ट्रिय शक्ति बनाउने र मिसन २०८४ मा पार्टीलाई कसरी बहुमतप्राप्त पार्टी बनाउने भन्ने विषय पनि एमालेले वार्षिक कार्यक्रममा समावेश गरेको छ । 

प्रकाशित: २८ भाद्र २०८१ १८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App