मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त जनउत्तरदायी बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जनकपुरधाममा बुधबार आयोजित भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना २०८१ सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले सुशासन, विकास र समृद्धि प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गरे।
उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालका तीनै तहका सरकारले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना कार्यान्वयन गर्नुपर्ने औँल्याए।
उनले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना कार्यान्वयन गर्न प्रदेश सरकारले नीतिगत, कानुनी र संस्थागत कार्य गर्ने जानकारी दिए।
मुख्यमन्त्री सिंहले सबै किसिमका भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गरी नैतिकतामा आधारित समाजको स्थापना गर्नु चुनौतीपूर्ण रहेको भन्दै सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त र प्रभावकारी बनाउन अधिकतम साधन स्रोत तथा संयन्त्र परिचालन गर्ने बताए।
प्रकाशित: २६ भाद्र २०८१ १८:१४ बुधबार