१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउँछौँः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन्।

आइतबार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले धेरै सडक दुर्घटना भइरहका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग पनि छलफल भइरहेको बताए। दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरुले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको उनले बताए।

उनले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानूनहरु नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानून बनाउने गरी अघि बढिरहेको पनि बताए।

उनले भने, ‘रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको छ। गठन आदेशबाट निर्माण भएको छ। यसको कानून बनाउनै बाँकी छ। हाम्रो तर्फबाट हुने ऐन, कानून निर्माण गर्नेकुरा बाँकी छ। ऐन कानून बनाउने सन्दर्भमा हामी एकदमै यसलाई फास्ट ट्रयाकबाट कसरी लैजान सकिन्छ भनेर सोचिरहेको अवस्था छ। हाम्रो तयारी विभिन्न एक्सिडेण्ट भइरहने ठाउँहरुमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ। अरु मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ। छिटो रेस्क्यु नहुँदा मान्छेको मृत्यु भएको गुनासो छ, यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा हामी गम्भीर छौँ। खाल्डाखुल्डी रहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ।’

प्रकाशित: २३ भाद्र २०८१ १४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App