२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

दाहालले भनेः बलिदानबाट प्राप्त राजनीतिक उपलब्धीमाथि धावा बोल्ने छूट कसैलाई छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको बताएका छन्।

सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान गरे।

जनयुद्धलाई ‘हिंसा’ को रूपमा व्याख्या गरिएकोतर्फ इङ्गित गर्दै अध्यक्ष दाहालले जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्ष भनेको तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको स्मरण गर्दै त्यसमा सबै दलहरूले हस्ताक्षर गरेको उल्लेख गरे। उनले भने, ‘तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ। संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’

प्रधानमन्त्रीसँगै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने– ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’

जनयुद्धका महान् सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष दाहालले स्पष्ट गरे। पटक पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको उनले जानकारी दिए।

प्रकाशित: २० भाद्र २०८१ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App