४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री पद नै लिलामी हुने प्रदेश सरकारहरु भंग गरौँः सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताएकी छिन्।

मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताएकी हुन्।  

उनले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताइन्। त्यस्तै गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उनले प्रदेश संरचना सेतो हात्ति बनेको टिप्पणी गरिन्। उनले प्रदेश संरचना सेतो हात्तीको रुपमा पाल्नु नहुने बताइन्।  

उनले भनिन्, ‘सुदूरपश्चिम प्रदेशमा बजेट पारित गर्न नसकेर कर्मचारीहरुले दसैँको मुखमा तलव पनि खान पाएका छैनन्। स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि त्यहाँबाट सामानहरु उधारो लिएर काम चलाउनु परेको छ। गण्डकी प्रदेशमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो। यो के हो रु त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको सरकार, प्रदेशस्तरलाई भंग गरौँ। सेतो हात्ति नपालौँ भनेको छ। हामीहरुले यस्तो खालका गाइजात्रा हेर्नु नपरोस्। मन्त्रीज्युले वन मन्त्रालय दिदाँखेरी त्यहाँ त तीतेपाती र वनमाराहरु हेर्न म जान्नँ भनेर भन्नुभएछ। के वन मन्त्रालयमा तितेपाति र वनमारा मात्रै देखिन्छ रु यो त एक प्रकारले मन्त्रिपरिषद्को पनि अपमान भएको छ।’

सांसद कार्कीले गण्डकी प्रदेशमा एक मन्त्रीले वन मन्त्रालयमा तीतेपाति र वनमाराहरु हेर्न म जान्न भन्ने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिले मन्त्रिपरिषद्को अपमान भएको बताइन्। 

प्रकाशित: १८ भाद्र २०८१ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App