२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

व्यक्तिगत स्वार्थमा लिप्त भएको गुनासोपछि खाता जाँच सुरु गरेका छौँ: महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीले सङ्गठनको आन्तरिक शुद्धीकरणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मीत भवनको बुधबार भैरहवामा उद्घाटन गर्दै उनले सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्न छोडेर व्यक्तिगत स्वार्थमा लिप्त हुने गरेका जनगुनासो बढेकाले जुनसुकै तहका प्रहरीको खाता जाँच सुरु गरिएको बताए। 

नेपाल प्रहरी आम नेपाली जनताको आशा र भरोसाको केन्द्र रहेको र यसको पवित्र उद्देश्य राष्ट्र र नागरिकको सेवा गर्नु रहेको भन्दै उनले अपवित्र काम र आचरण प्रदर्शन गर्ने छुट  कसैलाई नदिइने बताए। डिआइजी सम्मलाई भ्रष्टाचारमा कारबाही अगाडी बढाइएको भन्दै उनले गलत गर्नेका व्यक्तिगत खाता मात्रै नभई निकटका व्यक्ति तथा साथीका खाता समेत चेक भइरहेको बताए। पवित्र संगठन भित्र रहेर अपवित्र काम गर्नेहरू कारबाहीको भागीदार हुने उनले दोहोर्‍याए।

‘तपाइ सबैले बुझनुस म÷म भन्नुस्, हामी तपाइको खाता चेक गर्देछौं तपाइको परिवार,साथीको खाता चेक गर्दैछौं,निर्मम हुनु पर्ने अवस्था छ धेरै ठाउँमा हामीले तानेका छौँ,कारण भ्रष्टाचार’ उनले भने।

हाल भइरहेका ११ सय प्रहरी निरीक्षकमा सबै तराइ जान चाहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने ‘अझ तराइमा पनि मधेस प्रदेश र लुम्बिनीका सीमावर्ती क्षेत्र जान चाहान्छ किन?’

प्रहरीको जिल्ला र प्रदेश नेतृत्व प्रति लक्षित गर्दै उनले एउटै व्यक्त्याइ एउटै स्थानमा वा युनिटमा दश÷११बर्ष सम्म राख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै त्यस्तो हुनुमा गलत स्वार्थ र गलत आचरणले काम गर्ने गरेको बताए।

‘म तपाईँलाई फेरी पनि भन्छु स्वार्थ छोड्नुस्, सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्नुस्, आफ्नो बोली र व्यवहारमा शिष्टता ल्याउनुस्, नागरिकले प्रहरीले राम्रो गर्‍यो भनेर महशुस गर्ने गरी काम गर्नुछ त्यो हो तपाइको सफलता’ प्रहरी महानिरीक्षक कुँवरले भने।

प्रहरी एक्लैको प्रयासले मात्रै अपराध नियन्त्रण वा अनुसन्धान हुन नसक्ने भन्दै उनले स्थानीय सरकार, स्थानीय जनता,सङ्घसंस्था सबैको साथ र समन्वयको आवश्यकता रहेको बताए। अपराध नियन्त्रण तथा अनुसन्धानमा फौजदारी न्याय प्रणालीका मुख्य अङ्गहरू सँगै स्थानीय सरकार, स्थानीय जनता,सङ्घसंस्था  र अन्य निकायसँग समन्वय गरेर अगाडी बढ्न मातहतका सबैलाई निर्देशन दिए।

कार्य सम्पादनका हिसाबले रुपन्देही जिल्ला एक नम्बर भएपनि जति गर्नुपर्ने हो त्यति काम हुन नसकेको बताए। रुपन्देहीको बेलहिया नाकामा पर्यटक लक्षित एकीकृत जाँच चौकी स्थापना भएपनि उद्देश्य अनुरूपको काम हुन नसकेको गुनासो बढेको भन्दै उनले उद्देश्य अनुरूपको सेवा प्रदानमा ध्यान दिन आग्रह गरे।  रुपन्देही लगायत देशभर राजश्व चुहावटको मुख्य मुद्दा रहेको भन्दै विशेष ध्यान दिन आग्रह गरे। 

प्रकाशित: १२ भाद्र २०८१ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App