४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कटारीका मेयर भन्छन्ः गर्दै नगरेको काममा मलाई भ्रष्टाचारी करार गर्न खोजिँदैछ

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले केही व्यक्तिहरुले अनर्गल, तथ्यहीन र कपोकल्पित आरोप लगाउँदै आफूलाई भ्रष्टाचारी करार गर्न खोजेको गुनासो गरेका छन्।

बुधवार पत्रकार सम्मेलन गर्दै मेयर श्रेष्ठले सर्वसाधारण जनमानसमा फैलाइएको भ्रमपूर्ण आरोपको खण्डन गर्दै आन्तरिक विवादका कारण तोकिएको मितिमा गर्न नसकेर गत २७ गते मात्र चालु आर्थिक वर्ष ०८१/८२ को बजेट तथा नीति कार्यक्रम पारित गरेकोमा सोही अधिवेशनको विषयलाई लिएर आफूविरुद्ध केही तत्त्व सुनियोजित रुपमा उत्रिएको आरोप लगाए।

नगर अधिवेशन नियमानुसार र सौहार्द्रपूर्ण रुपमा सम्पन्न भएको केही घण्टापछि नै अनावश्यक विवाद खडा गरी आफूमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएको उनले बताए।

नियमानुसार तेह्रौँ नगर अधिवेशनमा उपमेयर गीता खड्काले चालु आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेको, त्यसपछि सभा खुल्ला गरेर सभासदहरुसँग प्रश्नोत्तर भएको र सर्वसम्मत रुपमा कर्तल ध्वनी (ताली बजाएर)का साथ बजेट पारित गर्दै सभा सकिएको मेयर श्रेष्ठले बताए। तर, बजेट पारित गरी सबैजना घरघर गईसकेपछि एक्कासी रोयल्टी बाँडफाँडको १ करोड ७६ लाख रकम मेयरले मनोमानी ढंगले खर्च गरेर भ्रष्टाचार गरेको आरोप आफुमाथि लाग्दा चित्त दुखेको गुनासो गरे।

‘हामीले स्थानीय सरकार सञ्चालन ऐन् अनुसार नगर अधिवेशनमा उपमेयरज्युले बजेट प्रस्तुत गर्नुभयो, त्यसपछि फ्लोर ओपन गरियो’ अधिवेशनको चित्र प्रस्तुत गर्दै श्रेष्ठले भने ‘त्यसपछि उठेका प्रश्नको बुँदागत रुपमा सवाल जवाफ भयो र सबैको जिज्ञाशा समाप्त गरेपछि कर्तल ध्वनीका साथ सर्वसम्मत बजेट पारित भएको हो। तर, केही घण्टापछि नै मेयरले रोयल्टी बाँडफाँडको १ करोड ७६ लाख रकम भ्रष्टाचार गरेको हुँदै नभएको कुरा सामाजिक सञ्जाल र बजार हल्लामा छ्याप्छ्याप्ती पार्दै गम्भीर आरोप लगाइयो।’

मेयर श्रेष्ठले नगरबासीको हितमा केन्द्रित भएर विकास निर्माण र जनपक्षीय काम गर्दा यस्तो हुँदै नभएको आरोप खेप्नु परेको दुखेसो गरे। यस्तो तथ्यहीन आरोप लगाउँनुमा दलीय राजनीतिक मनोविज्ञान र आफुविरुद्ध राजनीतिक इगो साँधेको हुनसक्ने अनुमान उनको छ।

आफूले १ करोड ७६ लाख भ्रष्टाचार गर्नु त के ७६ पैसा मात्र खाएको प्रमाणित भए राजनीति छाडिदिने घोषणा पनि मेयर श्रेष्ठले गरे।

‘त्यो सबै रकम एक–एक नगर विकास र सकारात्मक काममा खर्च भएको छ’ पत्रकार सम्मेलनमा श्रेष्ठले प्रष्ट्याए ‘सबै शीर्षकको रकममा सम्बन्धित शाखाबाट सिफारिस भई, प्रमुख प्रशासकीय अधिकृतबाट टिप्पणी उठाई सदर गरेर भुक्तानी भएको बील भर्पाई नगरबासीले सबैले हेर्न सक्न्छन्, कतै १ पैसा तलमाथि भएको प्रमाणित भए म राजनीति छाडिदिन्छु।’

रोयल्टी बाँडफाँडको रकम खर्च गर्ने मेयरको अधिकार क्षेत्रभित्र पर्ने भए पनि सबैसँग सरसल्लाह गरेर नगर विकासमै केन्द्रित भएर विनियोजन गरिएको भन्दै उनले त्यसमा पनि सकेसम्म कम खर्च गरेको बताए। श्रेष्ठले प्रस्तुत गरेको विवरणमा विभिन्न १९ शीर्षकमा रकम विनियोजन गरेकोमध्ये ५ शीर्षकको रकम खर्च नभएको उल्लेख छ।

ठूलो आकारको शीर्षक ‘जनतासँग मेयर कार्यक्रम’मा विनियोजित २६ लाख ९८ हजार रकम खर्च भएको छैन भने ‘पाईप खरिद’का लागि विनियोजित १० लाख, ‘प्राविधिक तथा अन्य कर्मचारीका लागि ल्यापटप खरिद’ ५ लाख, ‘फर्निचर तथा फिक्चर्स’ ५ लाख र ‘विमा तथा नवीकरण’ शीर्षकको ५ लाख खर्च नभएको विवरणमा उल्लेख छ।

महँगी भत्ता शीर्षकमा विनियोजित ११ लाखमध्ये ८ लाख ८८ हजार खर्च भएको छ भने विद्युत पोल खरिद तथा व्यवस्थापन ३ लाखमध्ये १ लाख ४४ हजार २ सय ९१, बैठक भत्ता शीर्षकको १० लाख खर्च भएको छ। त्यस्तै १० लाख विनियोजित पानी तथा विजुली शीर्षकको रकममा ७ लाख ७६ हजार ४ सय ४७ रुपैँया खर्च हुँदा प्रस्ताविक मेडिकल कलेजका लागि जग्गा व्यवस्थापन शीर्षकमा विनियोजित १० लाखमध्ये ९ लाख ५५ हजार ३ सय ६२ खर्च भएको विवरणमा उल्लेख छ।

विपत व्यवस्थापनमा विनियोजित १५ लाखमध्ये १२ लाख ७ हजार ९ सय ८४ खर्च हुँदा मसलन्द तथा कार्यालय सामग्रीलाई छुट्याइएको १० लाखमध्ये ९ लाख ८६ हजार ४ सय ९५ खर्च भएको छ। अपाङ्गता भएकालाई स्कुटर किन्न १ लाख ६० हजार छुट्याएकोमा ७९ हजार ८ सय १०, अनुगमन मूल्यांकनमा ८ लाख विनियोजन गर्दा ७ लाख ३५ हजार ३ सय ५० र विविध खर्च १८ लाख छुट्याइएकोमा १७  लाख ९२ हजार ७ सय ५९ रुपैँया खर्च भएको फेहरिस्त मेयर श्रेष्ठले सुनाए।

सवारी साधन मर्मतार्थ ५ लाखमध्ये ३ लाख ५२ हजार ९ सय ७९, कार्यालय प्रयोजन इन्धन १५ लाखमध्ये ८ लाख ४८ हजार ८ सय ७५ खर्च हुँदा पत्रपत्रिका छपाई र सूचना प्रकाशन १० लाखमध्ये ७ लाख ७३ हजार ३ सय २० रुपैँया खर्च भएको छ। सम्मेलनमा जारी विज्ञप्तीमा रोयल्टी बाँडफाँड रकमको सबभन्दा ठूलो हिस्सा ६२ लाख ५ हजार ७ सय ६१ रुपैँया गतवर्षको घाटा बजेट पूर्ति गरिएको मेयर श्रेष्ठद्वारा प्रस्तुत विवरणमा उल्लेख छ।

गतवर्षको बजेट अनुमान बमोजिम आन्तरिक राजश्व नउठेको, संघ र प्रदेशबाट भनिए बमोजिम वित्तीय समानीकरण र राजश्व बाँडफाँड नआउँदा रोयल्टी बाँडफाँडबाट व्यवस्थापन गर्नुपरेको हो।

कटारीले गतवर्ष ल्याएको ८९ करोड ९४ लाख ४ हजार ९ सय ७१ रुपैँया ६२ पैसाको बजेट यथार्थमा ८० करोड २७ लाख २१ हजार १२ रुपैँया २६ पसा मात्र आमदानी भई ९ करोड ९४ लाख घाटा भएको श्रेष्ठले बताए। नेपाली काँग्रेसबाट चुनाव जिते पनि जनप्रतिनिधि भएपछि सबैको साझा मेयर भएर काम गर्दा आफ्नै पार्टीका केही व्यक्ति र विपक्षी दलले तारो बनाएको दुखेसो पनि श्रेष्ठले गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले रोयल्टी बाँडफाँडको रकम सामाजिक सञ्जाल र बजार हल्लामा भनेजस्तो भ्रष्टाचार र अनियमितता नभएको बताए। नगरको आवश्यक्ता अनुसार विनियोजन गरेको रकम शीर्षक अनुसार विधि प्रक्रिया पुरा गरेर मात्र खर्च भएकाले भ्रष्टाचार भन्नै नमिल्ने हाकिम भट्टराईको भनाइ छ।

गतवर्ष बजेट घाटा भएकाले चालुवर्ष बजेट ल्याउँदा यथार्थपरक होस् भन्ने मनसाय लिँदा माग बमोजिम बजेट नपाउदा केही असमmदारीका सुरु भएको र त्यसैले विवादको रुप लिएको उनले बताए। बजेट सौहार्दपूर्ण रुपमा पारित भएको र केही समस्या देखिएकाले प्रष्ट्याउन पत्रकार सम्मेलन गरिएको हाकिम भट्टराईले बताए।

नगर उपप्रमुख गीता खड्काले मेयरको सामान्य कमजोरीले जटिल मोड लिदै गएको भन्दै यस्तो हुनु दुखदायी भएको बताईन्। मेयर कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारण (लाईभ) गेटबाहिर बसेर हेरेकी खड्काले सम्मेलनपछि पत्रकारलाई प्रतिक्रिया दिँदै सामान्य समन्वय अभावले यो अवस्था सिर्जना भएको बताईन्। तर, मेयर र उपमेयर मिलेर मात्र नगरबासीको हितमा काम गर्न सकिने उनको प्रतिक्रिया थियो।

कटारीका १४ वडामध्ये नेपाली काँग्रेसबाट निर्वाचित ३ र नेकपा (माओबादी केन्द्र)बाट निर्वाचित १ गरी ४ वडाध्यक्ष मात्र सम्मेलनमा उपस्थित थिए। नेकपा (एमाले)बाट निर्वाचित उपमेयर खड्का र एमालेबाटै विजयी वडाध्यक्षहरु तथा स्वतन्त्र निर्वाचित वडाध्यक्षहरु अनुपस्थित हुनुले दलीय मनोविज्ञानले काम गरेको अनुमान लगाउन सकिन्थ्यो।

प्रकाशित: ३१ श्रावण २०८१ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App