४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रिक्त रहेका ३४ स्थानीय तहमा उपनिर्वाचनको तयारी सुरु

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका पदाधिकारी चयनका लागि उपनिर्वाचन प्रक्रिया सुरु गरेको छ। आयोगले नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको छ। 

मंगलबार आयोगका सहसचिव एवम् प्रवक्ता रघुराम विष्टले विभिन्न कारणले रिक्त रहेका मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष छान्न उपनिर्वाचन गर्न लागेको जानकारी दिए।

‘गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्रवाहमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनमार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ’, उनले भने, ‘आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचन मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गरेको हो।’

२०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचितमध्ये ३४ पद रिक्त रहेका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा उपनिर्वाचन हुने भएको हो।

यसैगरी झापाको कन्काई नगरपालिका– ६, मोरङको ग्रामथान गाउँपालिका, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा गाँउपालिका–१२, वेलका नगरपालिका– ८, सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, रौतहटको राजपुर–६ र गढिमाई नगरपालिका–८, काठमाडौंको कीर्तिपुर नगरपालिका–१ र ४, काठमाडौं महानगरपालिका– १६, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टिगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष पदमा उपनिर्वाचन हुने भएको हो।

निर्वाचन घोषणाअघि नामावलीमा नाम दर्ता र अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ। उमेर पुगेका मतदाताले पायक पर्ने जिल्ला वा निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ।

यसअघि आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी मंसिरमा उपनिर्वाचन गर्न प्रस्ताव गरेको थियो। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तहरूले प्रधानमन्त्री ओलीसँगको छलफलमा कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका थिए।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ। सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो। प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचन मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ३० श्रावण २०८१ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App