नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी विधेयकमा भएको सहमतिको इमान्दारीतामाथि शंका व्यक्त गरेका छन्।
विगतमा पनि पटक–पटक टिआरसीको अन्तर बस्तुमा सहमति भएको उल्लेख गर्दै महासचिव गुरुङले यसपटक सहमतिबाट पछाडि फर्किनु नहुने बताएका हुन्।
‘विगतमा पनि पटक–पटक टुङ्गिएकै हो। अन्तर बस्तुमा सहमति भयो । फेरि पछाडि उल्टियो। सहमति भयो फेरि पछाडि प्रक्रियामा जाँदा कुनै न कुनै इस्यु उठाएर विलम्ब हुँदै आएको अवस्था हो,’ महासचिव गुरुङले भने,‘अहिले जुन सहमति भएको छ, भविष्यमा उल्टिएन भने, भविष्यमा कुनै अवरोध भएन भने प्रक्रिया अगाडी बढ्छ भन्ने कुरामा हामी आशावादी छौँ।’
उनले सहमति उलङ्घन नहोस् भन्नेमा आफूहरू आशावादी रहेको बताए। उनले भने,‘सहमति गर्नका लागि यो आयोग बनेको हो । आयोगले सहमति जुटाउँदा पनि सहमति जुट्न सकेन भने सहमति जुटाउन नसकेको कुरा सरकारलाई जानकारी गराइदिने कुरा हो।’
आयोग सरकारप्रति जबाफदेही बन्नुपर्ने पनि महासचिव गुरुङले तर्क गरे। ‘आयोगले कति सहमति ग¥यो रु कति सहमति गर्न सकेन भन्ने कुरा त सरकारलाई जानकारी गराइदिने हो। मेलमिलाप हुन नसकेका केसहरू दण्ड, जरिवाना गर्नु परे पनि न्यूनतम रूपले २५ प्रतिशत गरेर जानु उपयुक्त हुन्छ,’ उनले भने।
यस्तै टिआरसीलाई राजनीति गर्ने भाँडो बन्न सक्ने भन्दै पनि उनले आशंका व्यक्त गरे। ‘१७/१८ वर्षसम्म यसलाई जुन ढंगले अवरोध गर्ने, गराउने। सहमति गर्ने फेरि उल्टिने, सहमति गर्ने फेरि उल्टिने गरेर,’ उनले भने,‘त्यस कारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । विगत कालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो।’
प्रकाशित: १८ श्रावण २०८१ १५:०७ शुक्रबार