२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: एमाले नेता आचार्यद्वारा मुख्यमन्त्रीमा दाबी पेश

लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागी नेकपा एमालेका नेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन्।

नेपाली कांग्रेसको समर्थनमा एमालेका आचार्यले मुख्यमन्त्रीका लागी प्रदेश प्रमुख शेरचन समक्ष दाबी पेश गरेका हुन्।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि समय सीमा दिइएको थियो।

नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ सांसद गरी ५६ सांसदको समर्थनमा आचार्यले दाबी पेश गरेका हुन्। ८७ जना सांसद रहेको लुम्बिनीमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन चाहिन्छ। कांग्रेस र एमाले दुई दल मिल्दा सरकार बनाउने संख्या पुग्छ।

आचार्यसँगै कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी लगायत नेताहरु पनि प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने चर्चा विपरीत एकाएक एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने भएका छन्।

आइतबार कांग्रेस–एमालेबिच दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम अर्घाखाँचीका आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो।

अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए।

प्रकाशित: ७ श्रावण २०८१ १६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App