१५ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

एक साताभित्रै सरकारमा सहभागी हुन्छौं : नेता थापा

फाइल तस्बिर

नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले एक साता भित्रै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। थापाले मन्त्रालयको भागवण्डा टुंगो लगाएर एक साता भित्रै सरकारमा सहभागी हुने नागरिकसँग कुरा गर्दै बताएका हुन्।  

थापाले कांग्रेस र एमालेबीच  प्रदेशहरूको नेतृत्व टुंगो लागे पनि मन्त्रालयको भागबण्डा टुंगो नलागेका कारण कांग्रेस सरकारमा सहभागी हुन नसकेको स्पष्ट पारे। उनले भने ‘प्रदेशको नेतृत्व टुंगो लागे पनि शीर्ष नेतृत्वका बीचमा मन्त्रालयको भागबण्डा टुंगो लाग्न बाँकी छ। जसका कारण कोशी सरकारमा सहभागी हुन ढिलाई भइरहेको छ।’  

थापाले एक साता भित्रै मन्त्रालय र मन्त्रीको टुंगो लगाएर कांग्रेस सरकारमा जाने बताए । एमाले नेतृत्वको कोशी सरकारबाट माओवादी केन्द्र अझै बाहिरिएको छैन। बिहीबार बिहान मात्र कोशी प्रदेशका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगको भेटमा अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म सरकार नछाड्न सुझाव दिएका थिए।  

माओवादी केन्द्रका मन्त्रीहरू मुख्यमन्त्रीले नहटाएसम्म सरकार छाड्ने पक्षमा देखिएका छैन । तर, नेता थापाले कांग्रेस सरकारमा सहभागी भएपछि माओवादी केन्द्र सरकारमा नरहने बताए । उनका अनुसार कोशीका ९ वटा मन्त्रालयमध्ये एमालेको भागमा मुख्यमन्त्रीसहित ५ र कांग्रेसको भागमा ४ वटा मन्त्रालय हुने प्रारम्भिक सहमति भइसकेको छ । 

४ वटा मन्त्रालय कांग्रेसले लिने प्ररम्भिक सहमति भइसकेको छ’ थापाले भने, ‘कुन–कुन मन्त्रालय लिने र को–को मन्त्री बन्ने भन्ने विषय टुंगो लगाउन बाँकी छ ।’  

प्रदेशमा पनि आधा–आधा कार्यकाल  

संघमा जस्तै प्रदेशहरूमा पनि मुख्यमन्त्रीमा कांग्रेस र एमालेबीच आधा–आधा कार्यकाल बाँडफाँट गर्ने सहमति भइसकेको नेता थापाको दाबी छ । कोशीमा हाल एमालेको सरकार छ । अबको आधा कार्यकाल एमालेकै मुख्यमन्त्रीले निरन्तरता पाउने थापाले स्पष्ट पारे । उनले त्यस पछिको आधा कार्यकाल कांग्रेसको नेतृत्वमा कोशी प्रदेशको सरकार बन्ने पनि खुलासा गरे ।

प्रकाशित: ३ श्रावण २०८१ १९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App